सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा बम विस्फाेट:

नेपालगन्जमा बम बनाउँदै गर्दा विस्फाेट, दुई जना घाइते

घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार

बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फाेट भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फाेट भएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा हिजो बेलुका बम बनाउने क्रममा विस्फाेट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर बम विस्फाेट भएको थियो । विस्फाेटबाट क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कोठाभित्र भेटिएको दुईवटा बममध्ये एउटा विस्फाेट भएको र अर्को नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताले बम बनाइरहेका र थप अनुसन्धान भइरहेको बाँकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

यसअघि हिजो दिउँसो भोजपुरमा बम विस्फोट भएको थियो । यसको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको थियो । विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०८:१६