सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि देशभरका विमानस्थलमा यान्त्रिक परीक्षण उडान

देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजबाट यान्त्रिक उडान गर्ने भएको हो ।

विमानस्थलमा जडान भएका उपकरणले काम गरे/नगरेको परीक्षण गर्न यान्त्रिक उडान गरिन्छ । यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोल, टावर, धावन मार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षण गरिन्छ ।

कम्तीमा छ महिना र बढीमा दुई वर्षमा यान्त्रिक उडान गर्नुपर्छ । यान्त्रिक उडानका लागि एरोथाईको टोली नेपाल आइसकेको छ । एरोथाईको टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर र प्राविधिक छन् ।

टोलीले आज भैरहवास्थित गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ । आइतबार काठमाडौं आइपुगेको एरोथाईको प्राविधिक उपकरण जडित जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार लगायतका क्षेत्रको यान्त्रिक परीक्षण गरेर भैरहवा गएको छ । शुक्रबार नेपालगन्ज विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान गरिनेछ । यान्त्रिक परीक्षण उडान सफल भएको प्रतिवेदनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडानका लागि योग्य मानिनेछ । काठमाडौं, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०७:४१