सूचनाको शक्ति - The Power Of Information

        

२०७९ मंसिर १ गतेको राशिफल : तुला र धनुलाई अवसर

२०७९ मंसिर १ गते, बिहीवार, १७ नोभेम्बर २०२२ । मार्ग कृष्णपक्ष नवमी तिथि । मघा नक्षत्र, १९ः१४ बजेदेखि पूर्वफाल्गुनी । चन्द्रराशि– सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ । काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । नाम, दाम र इनाम हातपार्ने समय छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । नयाँ काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । नियमित काम भने बन्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । हिसाबकिताबमा होसियार रहनुहोला । व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । गोपनीयता बाहिरिए पनि मिहिनेत गर्दा केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधा जुटाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०७:२४