सूचनाको शक्ति - The Power Of Information

        

भोट माग्न आउनेसँग मतदाताले मागे लालपुर्जा !

कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वीरबहादुर ठगुन्नाले ४ पटक मतदान गरिसकेका छन् । उनको ५ कट्ठा ऐलानी जमिन छ । जग्गाधनी प्रमाण पुर्जा पाउने आशाले मतदान गर्दै आए पनि अहिलेसम्म ठगुन्नाको हातमा लालपुर्जा परेको छैन । त्यसैले उनी यसपटक चुनावमा मत खसाल्ने मनस्थितिमा छैनन् । वर्षाैंदेखि जमिन र लालपुर्जाको आश देखाएर मत मागेर नेताहरूले ठग्ने गरेको ठगुन्ना बताउँछन् ।

‘चुनावको बेला नेताहरू जमिन दिन्छौं, लालपुर्जा दिन्छौं भन्छन् तर हाम्रो व्यवस्था कहिल्यै हुँदैन, चुनाव जितेर गएपछि फर्किएर हेर्दैनन् । चुनावमा आफूहरूलाई नेताले मतका लागि मात्रै आश्वासन दिन गरेका छन्,’ उनी भन्छन्, ‘यसपटक पनि नेताहरू आएर आश्वासन दिइरहेका छन् तर अहिलेसम्म केही व्यवस्था नभएकाले यसपटक मत खसाल्ने मन नै छैन ।’

भीमदत्त नगरपालिका–१८ सुकुम्वासी बस्तीकी लक्ष्मी डंगौराले हरेक चुनावमा जमिन पाउने आशाले मतदान गर्ने गरेको सुनाइन् । ‘जमिन दिन्छौं भनेपछि ३ पटकसम्म मतदान गरें तर चुनावमा मत माग्ने बेला मात्रै नेताहरूलाई हाम्रो समस्या थाहा हुन्छ, जितेर गएपछि समस्या कसैले सुन्दैनन्,’ उनी भन्छिन्, ‘वर्षाैंदेखि हाम्रो समस्या ज्यूँका त्यूँ छ ।’ बेदकोट नगरपालिका–१ का राजु धामीले २०६८ सालदेखि हात्तीथलामा ऐलानी जमिन भोगचलन गरिरहेका छन् ।

ऐलानी जमिनको लालपुर्जा पाउन उनले पटक–पटक बनेका आयोगमा निवेदन दिए । ‘कमाई खाने जमिनको मालिक बन्ने धेरै ठूलो आशा थियो तर हाम्रो आशा कहिल्यै पूरा भएन,’ धामी भन्छन्, ‘अब त लालपुर्जा पाइने आशा नै छैन ।’ लालपुर्जा पाउने सपना सपनामै सीमित भएको बेदकोट नगरपालिका–५ का गोविन्द धामी बताउँछन् । ‘लालपुर्जा दियो भने ऋण निकालेर खेती गर्ने योजना थियो तर लालपुर्जा दिन्छौं भनेर मत माग्छन्,’ उनी भन्छन्, ‘हामीहरू पनि आशैआशमा भोट हालेर जिताउँछौं तर जितेर गएपछि हामीलाई बिर्सिन्छन् ।’

लालपुर्जा नहुँदा स्थानीय व्यापार, व्यवसायदेखि ऋणलगायत अन्य सुविधाबाट वञ्चित हुनुपरेको छ । सुकुम्वासी टोलका हरि डंगौरा आफूले जग्गा नपाउञ्जेल मत नहाल्ने विचारमा छन् । ‘चुनावमा भोट हालेर मात्रै के गर्नु ? हाम्रो समस्या समाधान नै हुँदैन,’ उनी भन्छन्, ‘नेताहरूले चुनाव जित्नका लागि मात्रै हामीलाई सम्झन्छन्, त्यसैले यसपटक जग्गा पाए मात्रै भोट हाल्ने सोचेको छु ।’

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ११:२३