सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन चर्चामै सीमित कालीकोटको सुनथराली विमानस्थल

कालीकोटमा रहेको सुनथराली विमानस्थल चुनावी एजेन्डा मात्रै बन्ने गरेको छ । सो विमानस्थल निर्वाचनका समयमा निकै चर्चामा आउने गरे पनि निर्वाचन सकिएपछि विस्तारै चर्चा सेलाउँदै जाने गर्छ ।

अहिले फेरि निर्वाचन आएको छ । उम्मेदवारहरूले उक्त विमानस्थल बनाउने चुनावी एजेन्डा आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । तीन दशकदेखि निर्माण कार्य थालिएको सुनथराली विमानस्थलको निर्माण अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

जिल्लाको नरहरिनाथ गाउँपालिका–१, कोटवाडामा बन्दै गरेको विमानस्थलको धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइको रहेको छ तर सोही गाउँपालिका–१ का स्थानीय मीनबहादुर विष्टले जिल्लाको एक मात्र गौरवको आयोजना रहेको सुनथराली विमानस्थल बनाएर सञ्चालनमा ल्याउँछौँ भन्न थालेको तीन दशक बितेको बताए ।

उनले भने, ‘तीन दशकदेखि विमानस्थल सञ्चालनमा ल्याउँछौँ भनेर सुनेका छौँ । अहिले त नेताहरूले दिने आश्वासनको पनि विश्वास लाग्दैन ।’ निर्वाचनको बेलामा उम्मेदवारले आफ्नो कार्यकालमा यो विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन दिए पनि अहिलेसम्म जनताले अपेक्षा गरेअनुसार काम नभएको सान्नीत्रिवेणी गाउँपालिका–२ का स्थानीय अजय सञ्ज्यालले बताए ।

सोही गाउँपालिका–३ का स्थानीय नमराज बुढाले विमानस्थल अहिलेसम्म चुनावी एजेन्डा मात्रै बन्ने गरेको गुनासो गरे । हरेक निर्वाचनमा विमानस्थल बनाउँछौँ भनेर आश्वासन दिने तर काम नगर्ने उनको भनाइ छ । खाँडाचक्र नगरपालिका–१ का समाजसेवी धनबहादुर बटालाले अहिले फेरि नेताहरूले विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने भनेर आश्वासन बाँड्दै हिँडेको बताए । जनतालाई भ्रम पार्ने काम भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १०:४५