सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

बाँकेका अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा

बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ ।

बाँकेका अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा अपनाइएको छ । बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले अति संवेदनशील मानिएका १०८ मतदान स्थलका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए ।

मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनको विशेष सुरक्षाका लागि बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ ।

बाँकेमा अति संवेदनशील मतदान केन्द्रको सङ्ख्या धेरै रहेकाले अति नै गम्भीर भएर व्यवस्थापन गर्नुपर्ने हुँदा मतदान अधिकृतलाई विशेष प्रकारको व्यवस्थापन तालिम दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनले संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको व्यवस्थापनलाई तालिममा विशेष प्राथमिकता दिइएको पनि जानकारी दिए । कर्मचारीबाट लापरबाही भएमा पुनः मतदान गर्नुपर्ने अवस्था आउने भएकाले यसप्रति सतर्क र सचेत गराइएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको अहम् भूमिका रहने हुँदा उनीहरूलाई विशेष तालिमसँगै आवश्यक निर्देशन प्रदान गरिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले बताए ।

मतदानमा लापरबाही गर्नेलाई विभागीय कारबाहीको सिफारिस गरिनेसमेत गरिने उनले जनाए । शान्तपूर्ण मतदान, मतपेटिका सुरक्षित मतगणना हुने स्थानसम्म पुर्याउने दायित्व अधिकृत र सहायक अधिकृतको हुने भएकाले अत्यन्तै संवेदनशील र सुरक्षित भएर कार्यसम्पादन गर्न तालिममा निर्देशन दिइएको बताइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १०:३४