एक दर्जनजति म्युजिक भिडियोमा अभिनय गरिसकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनय कला देखाउने तयारीमा छिन् । खोटाङ सिम्पानी स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागिरहेकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छिन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता उनले ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्किसकेकी छिन् ।

म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छिन् । अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनी विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरीसकेकी अनिताले डेढ दर्जनजति फेशन शोमा पनि आफूलाई हिँडाएकी छिन् ।

अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनी सबै प्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्छिन् । म्युजिक भिडियो र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो त भबिष्यले नै बताउँछ । तर, उनी भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्छिन् ।


सत्यपाटी संवाददाता । काठमाडौं