सूचनाको शक्ति - The Power Of Information

        

आइजिपीको निर्देशन नटेर्ने डिआइजी

गत १८ कात्तिकमा मधेस प्रदेशको राजधानी जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो । आसन्न चुनावका लागि लक्षित यस्तो गोष्ठीमा भाग लिन गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, गुप्तचरका प्रमुख हुतराज थापा लगायत जनकपुर पुगेका थिए ।

त्यही दिन धुनषाको सीमा प्रहरी चौकी लग्मा जटहीमा कार्यरत सइ देवकीलाल चौधरी चार हजार घुससहित पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक पसलेसँग घुस लिदै गर्दा उनलाई पक्राउ गरेको थियो । गृहमन्त्रीसहित देशका उच्च सुरक्षाकर्मी जिल्लामै भएको बेला भएको घुसकाण्डले सगठनकै बेइज्जत भयो ।

गृह मन्त्रालयका अधिकारीले समेत प्रश्न उठाए । त्यसपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले धनुषाका एसपी बसन्त रजौरेमाथि कारबाही गर्न मधेस प्रदेशका डिआइजी मसउद आलम खाँलाई निर्देशन दिए । तर, प्रहरी संगठन कस्तो अवस्थामा पुगेको छ भने १० दिन बित्दा पनि डिआइजी खाँले आइजिपीको आदेश टेरेका छैनन् ।

आइजिपीको आदेश डिआइजीले यसरी इन्कार गर्ने अवस्थाले प्रहरीभित्र संगठित रुपमा बढेको बेथिती र दण्डहिनतालाई प्रष्ट पार्दछ । पछिल्लो केही महिनायता मधेसका सीमा नाकामा प्रहरी मिलेमतोमा खुलेआम तस्करी बढेको छ । डिआइजी खाँ आफैंले अधिकाश सीमा क्षेत्रमा घुमुवा र सीमा चौकी इन्चार्ज खटाएर पैसा उठाइरहेका छन् ।

त्यो पैसा शक्ति केन्द्रहरुसम्म पुगेको छ । त्यही बलमा डिआइजी खाँले आइजिपीलाई नटेरेका हुन् भनिन्छ । आइजिपीको आदेश टार्न डिआइजी खाँ केही दिन बिदामा बसेको स्रोत बताउँछ । जबकी, निर्वाचनमा सिपाहीलाई समेत विशेष अवस्थामा बाहेक बिदामा बस्न रोक लगाइएको छ ।

डिआइजी बिदामा बसेको बेला उच्च तहमा मिलाएर कारबाही रोकाएको स्रोत बताउँछ । एसपीलाई कारबाही गर्दा आफूलाई समस्या हुने भएपछि डिआइजीले कारबाही गर्न नसकेका हुन् । तुलनात्मक रुपमा एसपी रजौरे खराब अफिसर मानिन्नन् । तर, आफ्नो जिल्लामा भइरहेको अवैधधन्दा रोक्न पनि उनले सकेका छैनन् । धुनषामा पुराना घुस्याहा प्रहरीको जन्जाल र उनीहरुलाई माथिल्लो तहबाट संरक्षण छ ।

सोही कारण एसपी रजौरको चेन अफ कमाण्ड जिल्लामा राम्रो हुन सकेको छैन । पक्राउ परेका सइ चौधरीले सीमा क्षेत्रका पसलसँग हाकिमलाई बुझाउन भन्दै हप्ता असुली गर्दै आएका थिए ।असुलीले सीमा नाघेपछि स्थानीयले अख्तियारलाई खबर गरी रंगेहात पक्राउ गराएका थिए । मधेसका अधिकांश सीमा नाकामा अहिले त्यस्तै अवस्था छ । धनुषा मात्र होइन धेरै जिल्लाका एसपीहरु तस्करीको सेटिङमा लागेको छानबिनमा पुष्टि हुँदा पनि विगतमा कारबाही हुन सकेको छैन ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १२:५८