सूचनाको शक्ति - The Power Of Information

        

नुवाकोटमा आमाछोरीको हत्या : एक जना पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएकाे छ ।

दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन वर्षीया छोरी कृष्टिना खतिवडाको हिजाे बेलुका धारिलाे हतियार प्रयाेग गरी  हत्या भएको हाे ।

घटनामा संलग्न रहेको आराेपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यही ठाउँका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती व्यक्ति घरेलु हतियारसहित सम्झनाकाे घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठमाण्डौतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरिएकाे हाे ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ०९:१७