सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा नौं जनालाई स्पष्टीकरण, दिइयो कारवाहीको चेतावनी

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ ।

आचारसंहिता विपरीत चामल बाँडेको, ब्यानर प्रयोग भएको, तोकिएको भन्दा बढी प्रचार कार्यालय सञ्चालन गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको हो ।

प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल, सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणपछि ब्यानर हटाएको र जसपाका उम्मेदवारलाई तोकिएको भन्दाबढी प्रचार कार्यालय खोलिएकामा बढी भएका प्रचार कार्यालय हटाएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले बताए ।

नेपालगन्ज वडा नं.२० का वडाध्यक्ष कौशलकुमार धोबीले वडावासीलाई चामल बाँडेको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा पनि स्पष्टीकरण सोधिएको उल्लेख गरे ।

वडा कार्यालयले पहिले भएको निर्णयअनुसार चामल बाँडेको र कसैलाई प्रभाव पार्नेगरी चामल नबाँडेको स्पष्टीकरण दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा ब्यानरको विषयमा चार दल, स्वतन्त्र उम्मेदवार दुई, गैरसरकारी संस्था एक र २० नं. वडाका वडाध्यक्ष एक लगायतबाट आचारसंहिता उल्लङ्घन भएको अधिकारीले बताए ।

जसपालाई प्रचार सामग्री र प्रचार कार्यालय बढी राखेको दुई स्पष्टीकरण सोधिएको थियो । आचारसंहिता उल्लङ्घनमा कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेलाई सचेत गराइएकोसमेत उनले बताए । अधिकारीले मतदातालाई प्रभाव पार्नेगरी विकासका काम नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारवाही हुने चेतावनी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १४:१३