सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा चार दिन सार्वजनिक बिदा !

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चार दिन बिदा हुने भएको छ । निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ भने एक दिन शनिबार पर्दछ ।

मंसिर २, ४ र ५ गते सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । मंसिर ३ गते शनिबार परेको छ । गत बिहीबार नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ ।

बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदैछ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ ।

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो । ‘तीन दिन बिदा दिँदा मतदाता आफ्नो मतदानस्थलसम्म पुग्न र फर्कन सहज हुन्छ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘धेरै मतदान हुने आकलनका आधारमा पनि हामीले यस्तो सिफारिस गरेका हौँ ।’

निर्वाचन आयोगको सिफारिस अनुसार बिदा सम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइसकेको छैन,’ उनले भने, ‘निर्वाचन आयोगको सिफारिसअनुसार यसबारे सरकारबाट निर्णय भएपछि सार्वजनिक गर्नेछौँ ।’ त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १३:५१