सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

भारतीय सीमासम्मै सडक र विद्युत्, ‘फेरिए चुनावी एजेण्डा’

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह भन्छन्, ‘अब डुबान, सुक्खा, रोजगारी, शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला भएको छ ।’

बाँकेको नरैनापुर क्षेत्रमा गत तीन दशकभन्दा बढी समयदेखि हरेकजसो निर्वाचनमा उठाइँदै आएका चुनावी मुद्दाहरू यस पटक भने फेरिएका छन् । नरैनापुरवासीका घर–घरमा सडक र विद्युत् पुर्याउने विषय हरेक निर्वाचनमा सबै राजनीतिक दलको मुख्य मुद्दा बन्ने गरेको थियो ।

पाँच वर्ष अवधिमा नरैनापुरको भारतीय सिमानासम्मै कालोपत्रे सडक र विद्युत् पुगेपछि यस पटकको निर्वाचनमा भने उक्त मुद्दा उठाइएको छैन । सो क्षेत्रका जनताले डुबानमुक्त बनाउनुपर्ने, खाद्यान्नको व्यवस्था गरिनुपर्ने र गाउँगाउँमा भौतिक विकास पुर्याउनुपर्ने लगायतका मागलाई मुख्य मुद्दा बनाएका छन् ।

बाँके जिल्लाकै अति विकट मानिने नरैनापुरमा स्थानीयको सक्रियताले घरआँगनमा कालोपत्रे सडक र विद्युत् पुग्दा चुनावी मुद्दासमेत फेरिएको युवा तथा खेलकुदमन्त्री एवं बाँके क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वरजङ्ग गहतराज बताउँछन् । गत निर्वाचनमा आफूले पनि सोही मुद्दामा चुनाव लडेको जनाउँदै उनले जनताको माग पूरा गर्न सकिएकाले अहिले मुद्दा फेरिएको दाबी गरे ।

अब बाँकी रहेका विकाससँगै रोजगारी र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गरिने उनको भनाइ छ । आफूहरूले गरेको कामकै कारण विगतमा हरेकजसो निर्वाचनमा मुद्दा बन्दै आएको सडक र विद्युत् यसपटक मुद्दा बनाउनु नपरेको भनाइ बाँके क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)का उम्मेदवार कृष्णा केसीको छ ।

उम्मेदवार केसीले ३० वर्षदेखि बन्दै आएको मुद्दालाई विस्थापित गरिदिएकाले आगामी दिनमा पनि यस क्षेत्रका लागि राम्रो गर्ने प्रतिबद्धता जनाइन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह पनि पाँच वर्ष पहिले पालिका अध्यक्षको उम्मेदवार हुँदा आफूलेसमेत सडक र विद्युतकै मुद्दामा चुनाव लडेको बताउँछन् ।

जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सफल भएकै कारण फेरि यस पटकको स्थानीय निर्वाचनमा एक पटक आफूलाई सेवा गर्ने अवसर मिलेको अध्यक्ष शाहको भनाइ छ । अब डुबान, सुक्खा, रोजगारी, शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला भएको उनले बताए । यी मुघाहरु नरैनापुरबासीले पनि उठाउँदै आएको अध्यक्ष शाहको भनाई छ ।

नरैनापुर–४ का ७० वर्षीय मोल्हे दर्जीले हरेक चुनावमा भोट माग्न आउने नेतासँग सडक र बिजुली मागेको स्मरण गर्दै भने, ‘यस पटक दोहोर्याउनु परेन ।’ यस्तै नरैनापुर–२ का राजेश बर्माले पनि सानै उमेरदेखि सधैँ सडक र विद्युत् माग्दै आएको सुनेकोमा यस पटक माग फेरिएको बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १०:४६