सूचनाको शक्ति - The Power Of Information

        

चुनावपछि गठबन्धनबाट प्रधानमन्त्री को ?

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ ।

यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । उता एमाले नेतृत्वमा रहेको गठबन्धनले चुनावमा बहुमत ल्याएमा भने एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निश्चित छ ।

एमालेले ‘मंसिर ४, ओली सरकार’ भन्दै आफूहरूले जितेमा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हुने भन्दै सोहीअनुसार प्रचारप्रसारलाई देशव्यापी बनाइरहेको छ ।

आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले भने प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन ।

सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् ।

यस्तै, गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् । सामान्यतया विगतका अनुभव हेर्ने हो भने आमनिर्वाचन हुनुअघि नै दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने गरेका छन् ।

२०४६/४७ सालको जनआन्दोलनपछि भएका विभिन्न निर्वाचनमा तत्कालीन समयका प्रमुख दुई दल कांग्रेस र एमालेले चुनावअघि नै भावी प्रधानमन्त्रीको रूपमा आफ्नो नेतृत्वलाई अघि सारेको थियो । त्यतिबेला भएका विभिन्न चुनावमा एमालेले मनमोहन अधिकारी तथा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्वाचनमा होमिएका थिए ।

चुनावमा गठबन्धनले बहुमत ल्याएमा भावी प्रधानमन्त्री फेरि पनि पार्टी सभापति शेरबहादुर देउवा नै हुनुहुनेछ । यसमा कसैले विरोध गर्ने कुरै छैन । उहाँ नै सर्वसम्मत प्रधानमन्त्री हो । अरूको दाबीको अर्थ छैन ।

डा. प्रकाशशरण महत, कांग्रेस प्रवक्ता सामान्यतया दलीय प्रणालीमा आमनिर्वाचनअघि नै दलहरूले प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने पद्धतिलाई सकारात्मक मानिन्छ ।

तर, यही ४ मंसिरमा हुने आमनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले बनाएको चार दलीय गठबन्धनले आफ्नो भावी नेतृत्व छनोट गर्न नसकेको हो ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ०७:४७