सूचनाको शक्ति - The Power Of Information

        

शेखर विरासत फर्काउने र लालबाबु साख जोगाउने कसरतमा

निर्वाचन नजिकिँदै जाँदा हेभिवेट प्रतिस्पर्धाका रूपमा हेरिएको विराटनगर–६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो ।

प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा. कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन् । कोइराला बदला लिने अभियानमा हुनुहुन्छ भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लाग्नुभएको छ ।

२०७४ को चुनावमा ६ सय ७५ मतान्तरले मात्रै अघि पछि भएका यिनै प्रतिष्पर्धी फेरि पनि मैदानमा उत्रिएपछि यो क्षेत्रलाई चासोका साथ हेरिएको मोरङका स्थानीयहरू बताउँछन् ।

गत निर्वाचनमा कोइरालालई पछि पारेका तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत पाउनुभएको थियो भने डा. कोइरालाको पक्षमा ३३ हजार २ सय ६६ मत आएको थियो ।

उक्त निर्वाचनमा सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । यसपटक डा. कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित सशंकित देखिन्छन् । मुलुकका तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा।शेखर भावी प्रधानमन्त्रीको दौडमा नभई सदन प्रवेशको कसरतमा रहेको बताउनुहुन्छ ।

‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु’, कोइरालाले भन्नुभयो – ‘मोरङबासी मात्र नभई मुलुककै समृद्धिको पक्षमा छु । राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प छ ।’

यसपटक मोरङमा कांग्रेसभित्र समस्या नभएको र गठबन्धनको सहयोग रहेकाले चुनाव जित्न सहज हुने उहाँको बुझाइ छ । ‘अहिले हामी एक छौं’, उहाँले भन्नुभयो– ‘गठबन्धन एकढिक्का छ । मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ०७:३७