निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुझ्न मुख्य सचिव सहितको टोली कर्णालीमा पुगेको हो ।
मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरूको टोलीले नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको छ ।
छलफलमा नेपाली सेनाको २४ नं वाहिनीका वाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीको पाँच जिल्लाको सुरक्षा अवस्था र तयारी तथा प्रमुख जिल्ला अधिकारी केशरीले जुम्लाको सुरक्षा अवस्था र तयारीबारे जानकारी गरेको जनाइएको छ ।
छलफलका क्रममा मुख्य सचिव बैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखलाई समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेको प्रजिअ केसरीले जनाए ।
नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिवसहितको उच्चस्तरको सरकारी अधिकारीहरुको टोली जुम्ला, हुम्ला हुँदै मुगु पुगेको छ । उनका अनुसार आज सोमबार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम प्रदेशतिर लाग्ने तालिका रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं