कर्णाली प्रदेशको आगामी मुख्यमन्त्रीको लागि सात जनाको नाम चर्चामा आएको देखिएको यहाँका विश्लेषकहरूले बताएका छन् । चर्चामा रहेका नेताहरूमध्ये मुख्यमन्त्रीमा कसको सम्भावना बलियो बन्छ भन्ने चाहिँ मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनले तय गर्ने उनीहरुको ठम्याइ छ ।
निर्वाचन परिणामले कांग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री बन्ने अवस्था देखिएमा कर्णाली प्रदेशको नेतृत्व कुन दलको भागमा पर्छ भन्ने अझै स्पष्ट छैन । कांग्रेसको तर्फबाट जुम्लाका ललितजंङ्ग शाही, जाजरकोटका राजिवविक्रम शाह र यसअघि मुख्यमन्त्री बनिसकेका हुम्लाका जीवनबहादुर शाहीको नाम मुख्यमन्त्री बन्न सक्ने नेताको रूपमा चर्चामा आइरहेको विश्लेषकहरूले बताएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट विन्दमान विष्ट र राजकुमार शर्मा मुख्यमन्त्रीको दाबेवारका रुपमा हेरिएका छन् । नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आए यामलाल कँडेल र विजयकुमार शाहको नाम चर्चामा रहेको एक जना राजनीतिक विश्लेषक रमेश आचार्यले बताए ।
उनले भने, ‘कर्णालीमा केही स्वतन्त्र उम्मेदवार बनेका भएपनि उनीहरू मुख्यमन्त्रीको चर्चामा आउन नसक्ने सम्भावना छ ।’ निर्वाचनमा कर्णालीका ७९ वटै स्थानीय तहमा उम्मेदवारहरू पुगेको भएपनि मदातामा भने त्यति उत्साह नदेखिएको आचार्यले बताए ।
पछिल्लो समयमा मतदाताहरूमा राजनीतिक उत्साहभन्दा पनि वितृष्णा बढी देखिने गरेको उनले बताए । कर्णालीका १० वटा जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका कैयन् मानिसहरू आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनअघि पनि छिमेकी देश भारतमा गइरहेका छन् ।
रोजीरोटीको लागि समस्या भएका उनीहरूमा ‘मतदान गरेर के काम’ भन्ने वितृष्णा उत्पन्न भएकाले चुनाव नपर्खेरै भारततर्फ लागेको आचार्यले बताए । कर्णालीको प्रदेशसभामा ४० सदस्य निर्वाचित हुनेछन् । जसमध्ये २४ जना प्रत्यक्ष अनि १६ जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।
सत्यपाटी संवाददाता । कर्णाली