सूचनाको शक्ति - The Power Of Information

        

चुनावी मैदानमा ओलिए कलाकार को–को होलान् सांसद ?

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् । कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ ।

राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । उनी प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहेकी छिन् ।

अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दर्ता गराएकी उनी घरदैलोमा पुग्दै आफ्नो गृह जिल्लामा मत मागिरहेकी छिन् । केही वर्षयता अभिनेत्री थापा कलाकारिताभन्दा पनि राजनीतिमा सक्रिय छिन् ।

‘यो मेरो गृह जिल्ला हो । मैले यहाँको भूभाग बुझेकी छु । यहाँको सेवा गर्दै राजनीति सुरु गरेकी हुँ,’ उनले बताइन् । फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधि सभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

दासढुङ्गा, बधशाला, ग्रेटर नेपालजस्ता फिल्म र डकुमेन्ट्री निर्देशन गरिसकेका पण्डितले विगत छ महिनादेखि नै तयारी गरिरहेका थिए । ‘अहिले जनताले स्वतन्त्रलाई पनि विश्वास गर्न थाल्नुभएको छ । यसैले उम्मेदवारी दिएको हुँ । किनकि मैले स्थानीय विकास गर्न कसैको निर्णय पर्खिनुपर्दैन, स्वतन्त्र छु,’ उनले भने ।

प्रतिनिधिसभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका उनले समाज परिवर्तनका लागि आफू स्वतन्त्र रूपमै चुनावमा होमिएको बताए ।

निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् ।

फिल्म निर्माता तथा अभिनेता रोज राणाले पनि नेपाली कांग्रेसका तर्फबाट प्यूठानको क्षेत्र नं १ को २ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन् । ‘मलाई पार्टीले विश्वास गरेर अवसर दिएको छ । यसको पूर्ण सदुपयोग गर्नेछु,’ उनले भने ।

फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवारी दिएका छन् । केही समययता सक्रिय राजनीतिमा रहेका श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट उम्मेदवारी दिएका हुन् ।

‘मेरो उम्मेदवारी युवालाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो । परिवर्तनका लागि अघि बढ्नै पर्छ,’ उनले भने । श्रेष्ठले सम्झिदिए पुग्छ, दुई दुना पाँच, ह्याप्पी न्यू इयर, पल्टन, जङ्गली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गरेका छन् ।

चुनावी मैदानमा देखिएका कलाकारको उपस्थितिले कला क्षेत्रलाई टेवा पुग्ने विश्वास हाँस्य कलाकार शिवशङ्कर रिजालको छ । ‘कलाकारहरूलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलले अझै सङ्ख्या बढाउनु जरुरी छ । यद्यपि सुरुवात राम्रो छ । म लगायत धेरै साथीलाई यसले चुनावी मैदानमा आउन हौसला मिलेको छ,’ उनले भने ।

स्रोत : रासस
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार १०:५६