सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश: आन्तरिक किचलोले दुवै गठबन्धनमा पिरलो

लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधि सभामा २६ जनाको प्रतिनिधित्व हुन्छ । २६ वटा निर्वाचन क्षेत्रमा मुख्य रूपमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन प्रतिस्पर्धामा छन् ।

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पालिकाका वडाध्यक्षहरूले पाएको मत र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्राप्त गरेको मत र एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको मतलाई पनि राखेर यो विश्लेषण गरिएको हो ।

स्थानीय तह चुनावमा दलहरूले प्राप्त गरेको मतलाई आधार बनाउँदा भने लुम्बिनी प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा विपक्षी गठबन्धन र १४ वटा क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ। लुम्बिनीलाई एमालेको प्रभाव क्षेत्रका रूपमा हेरिएको छ । एमाले आफ्नो यो प्रभावलाई मंसिरमा हुने निर्वाचनमा पनि कायमै राख्ने र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन त्यसलाई उल्ट्याउने रणनीतिमा छन् ।

यो विश्लेषणमा सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको मत समावेश गरिएको छैन । विपक्षी गठबन्धनमा रहेको राप्रपाले प्रतिनिधिसभा सदस्यका लागि लुम्बिनी प्रदेशका १९ निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिएको छ ।

बाँकी ६ क्षेत्रमा राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको छ। यसलाई आधार बनाउने हो भने विपक्षी गठबन्धन लुम्बिनी प्रदेशमा अझ कमजोर देखिन्छ ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार ०६:४८