सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाका मतदाता भन्छन्, ‘जङ्गली जनावर नियन्त्रण गर्नेलाई भोट’

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाता उम्मेदवार र उनीहरूका प्रतिबद्धताका विषयमा छलफल गर्न थालेका छन् । विगतमा निर्वाचित जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा मतदातामा विश्वासको वातावरण बन्न नसकेको मतदाताहरू बताउँछन् ।

जिल्लाको गेरुवा गाउँपालिकाका वडा नं ४ को गिदपुरकी भुमिसरा चलाउनेले दशकौँदेखि वर्षामा बाढी पसेर क्षति पुर्याउने गरेको र हिउँदमा हात्ती लगायतका जङ्गली जनावरले भित्र्याउन तयार भएको अन्नबाली नोक्सान पुर्याउने गरेको बताउँछिन् ।

उनले बाढी र जङ्गली जनावरको अतिक्रमणको समस्यालाई साँच्चिकै समाधान गर्नेलाई यसपटकको निर्वाचनमा मतदान गर्ने विषयमा छलफल चलेको बताइन् । यस्तै मधुवन नगरपालिका–३ धनैराका रामकृष्ण थारूले नेपाल–भारत सीमा क्षेत्रमा रहेको गाउँमा भारतीय जंगलबाट नेपाल पसेर जङ्गली जनावरले दुःख दिने समस्या समाधानमा पहल गर्ने उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।

‘सीमा क्षेत्रमा तारबार गर्न सकियो भने जङ्गली जनावरबाट जनताको अन्नबाली जोगिन्थ्यो’, उनले भने, ‘तारबारले अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा पनि हुने र समस्याको समाधान पनि हुन्छ ।’ जिल्लामा छ नगरपालिका र दुई गाउँपालिका गरी आठ पालिका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बर्दिया क्षेत्र नं १ प्रतिनिधिसभा–१ मा एक लाख ६२ हजार ६६२ मतदाता र प्रदेशसभा क्षेत्र नं १ (१) मा ८१ हजार ९१९ मतदाता र क्षेत्र नं १ (२) मा ८० हजार ७४३ मतदाता छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख ५२ हजार ६२२ मतदाता र प्रदेशसभा–२ (१) मा ८१ हजार ६६१ मतदाता क्षेत्र–२ (२) मा ७० हजार ९६१ मतदाता गरी बर्दियामा जम्मा तीन लाख १५ हजार २८४ मतदाता रहेका छन् । बर्दिया–१ मा एक स्वतन्त्रसहित यहाँ १० उम्मेदवार रहेका छन् । यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक पनि उम्मेदवार बनेका छन् ।

यस्तै नेकपा (एमाले) बाट पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार बनेका छन् । यिनै दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ । एमालेका उम्मेदवार ज्ञवालीले बर्दियाका भूमिहीन सुकुम्बासी, मुक्तकमैया र बर्दियाका जनताको हकअधिकारका लागि आन्दोलन गरेको, उनीहरूको सुख, दुःखको साथी भएको हुनाले आफूलाई जनताले मत दिने बताए ।

गठबन्धनको तर्फबाट बर्दिया–१ का उम्मेदवार कांग्रेस उम्मेदवार गौतमले विगतमा आफूले बर्दियामा धेरै विकास निर्माणका काम गरेको दाबी गर्दै जनताले आफूलाई भोट दिने उनीहरूको भनाइ छ । गत प्रतिनिधिसभाको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई पराजय गरेर गौतम विजयी भएका थिए । बर्दिया क्षेत्र नं २ मा दुई स्वतन्त्रसहित आठ उम्मेदवार चुनावी मैदानमा भएता पनि त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ ।

यस क्षेत्रमा एमालेका पङ्कजसिंह राठौर, गठबन्धनबाट माओवादी केन्द्रका सुरेश पन्थ र राप्रपाका विनय रावलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थले बर्दियाको विकासको मोडलको खाका आफूसँग भएको हुनाले चुनाव जित्ने दाबी गरे । एमालेका उम्मेदवार पङ्कजसिंह राठौरले बर्दियाको विकास तथा राष्ट्रियताको संरक्षणका लागि आफूलाई जनताले भोट दिने बताए । यस क्षेत्रमा राप्रपा र स्वतन्त्र उम्मेदवारको समेत प्रभाव राम्रो भएकाले पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १७:३८