सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थल सुरक्षासहित ८०० स्थानमा सेना खटियो, १४३ टोली तयारी अवस्थामा

सेनाले १०६ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलको सुरक्षा जिम्मा लिएको छ ।

नेपाली सेनाले दिएको जानकारी अनुसार त्यसका अतिरिक्त अन्य स्थानको पनि सुरक्षा जिम्मा लिने तयारी गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावी प्रयोजनको लागि खटिएपछि सेनाले महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा लिएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्नेछ ।

सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म ८३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी १४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।

निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका १०० सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ ।

निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ ।

यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका १४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ ।

सेनाले हाल १०६ महत्त्वपूर्ण संरचना, कारागार, विमानस्थमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ ।

निर्वाचन सुरक्षा अन्तर्गगत नेपाली सेना खटिएको हो । विगतमा पनि सेनाले महत्वपूर्ण भौतिक संरचनाको सुरक्षा जिम्मा लिदै आएको थियो । अहिले त्यसैको निरन्तरता हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १७:०७