आंशिक जालीसहितको पैताला, चिप्लिने शिकारलाई फन्दामा पार्न मिल्ने आधा भित्रबाहिर गर्ने नङ्ग्रा र न्यानोको लागि दुईपत्रे रौँ हुने पानी बिरालो (फिसिङ क्याट)को शारीरिक बनोट पानीमा शिकार खेल्ने गरी बनेको हुन्छ । माछा मार्ने यो जंगली जीव दक्षिण तथा दक्षिणपूर्वी एसियाका जलाधार क्षेत्रमा पाइन्छ तर राती सक्रिय रहने यो बिरालो अत्यन्तै विरलैमात्र देख्न पाइन्छ ।
पानी बिरालोको कुल संख्या कति छ भन्ने पनि निर्क्योल छैन । कैयौँ जोखिमका बीचमा रहेको यसलाई संकटापन्नबाट लोप हुनलागेको जीवको रुपमा लिइन्छ । माछा चोरेर खाइदिनुका साथै माछा मार्न प्रयोग गरिने जाली नष्ट गरिदिन्छ भनेर रुष्ट मानिसले कतिपय ठाउँमा यो बिरालोलाई मार्ने गर्छन् । अन्य केही क्षेत्रमा मासु खानका लागि पनि यसलाई मार्छन् । तर यसको वासस्थान मासिने समस्या भने एसियाली क्षेत्रमा सबैतिरको साझा चिन्ताको विषय हो ।
पानी बिरालोबारे अध्ययन गरिरहेका अध्येताले संकटापन्न यो जीवलाई जोगाउनका लागि यसले वासस्थानको रुपमा प्रयोग गर्ने जलाधारको संरक्षण गर्न तथा यसको वासस्थान क्षेत्रसँगै रहने मानिसहरू र यो जीवको बीचमा शान्तिपूर्ण सहअस्तित्व कायम गर्नुपर्नेमा जोड दिने गरेका छन् । यस प्रजातिको बृहत् तथा विविध प्रकारको क्षेत्रभर कैयौँ परियोजनाहरू सञ्चालनमा छन् र तिनीहरू यिनै उद्देश्यप्राप्तिका लागि क्रियाशील छन् ।
जलाधार क्षेत्रमा केन्द्रित भएका कारण यो बिरालो उच्च जोखिममा छ किनभने जलाधार क्षेत्रहरू अहिले विकासनिर्माण, कृषि विस्तार र सहरीकरणको घानमा परेका छन् । सन् १९७० देखि २०१५ सम्म एसियाले ३२ प्रतिशत प्राकृतिक जलाधार गुमाएको छ । जलवायु परिवर्तनले पनि यसमाथि खतरा थपेको छ । विश्व बैंकको एक प्रतिवेदनका अनुसार माछा मार्ने बिरालो बढी पाइने ठाउँ भारतले यो शताब्दीमा ६६९ वर्गकिलोमिटर समुद्री तटीय क्षेत्र र ८८९ वर्गकिलोमिटर नून बन्ने जलाधार गुमाउनसक्छ भने एक मिटर समुद्री सतह वृद्धि हुनसक्छ ।
विभिन्न प्रकारका जलाधारको पारिस्थितिक प्रणालीमा बाँच्नसक्ने यो जंगली बिरालोका लागि म्यानग्रोभ नामक वनस्पति भने ‘निकै महत्त्वपूर्ण’ हुने यस जीवबारे अनुसन्धान गरिरहेकी भ्यानेसा हेरान्ज मुनोजको ठहर छ । झुप्प परेका म्यानग्रोभका जरामा सुरक्षितरुपमा लुक्न र बाँच्न पाइने हुँदा पानी बिरालोले यो रुख मन पराउने गरेको मुनोजको भनाइ छ । त्यसो त जलवायु परिवर्तनसँग जुध्नका लागि पनि म्यानग्रोभ निकै महत्त्वपूर्ण हुन्छ किनभने यसले जंगलमा पाइने अन्य रुखले भन्दा बढी कार्बन भण्डारण गर्छ । तर एसियामा भने म्यानग्रोभ जोखिमपूर्ण अवस्थामा छ । दक्षिणपूर्वी एसियामा सन् २००० देखि २०१२ को बीचमा १ लाख हेक्टरमा फैलिएका म्यानग्रोभ नष्ट गरिएको थियो ।
जलजन्य व्यवसाय, कृषि र पाम तेलसम्बन्धी फार्म विस्तार गर्न ती रुख नष्ट गरिएको थियो । म्यानग्रोभ नासिएका कारण भियतनामको मेकङमा यो बिरालो लोप भइसकेको हुनसक्ने मुनोज बताउँछिन् । यो प्रजाति कुनै बेला इन्डोनेसियाको जाभामा पनि भेटिएको थियो तर सन् २००० यता त्यहाँ देखिएको छैन । ‘समग्रमा दक्षिणपूर्वी एसियामा यसको स्थिति निकै गम्भीर छ,’ उनले भनिन् । सन् २०१५ मा क्यामेरा ट्रयापको सहायताले मुनोज र उनको टोलीले दक्षिण–पश्चिम क्याम्बोडियाको समुद्री तटस्थित म्यानग्रोभ फैलिएका दुई ठाउँमा माछा मार्ने बिरालो पत्ता लगाएका थिए ।
सो मुलुकमा १२ वर्षको अवधिमा देखिएको त्यो नै पहिलो पटक थियो । ‘त्यहाँका म्यानग्रोभका रुखमा यो जीव फेला पार्छौँ भन्ने हामीले अपेक्षा गरेकै थियौँ,’ उनले भनिन् । त्यहाँ स्थानीयरुपमा क्ला ट्रे भनिने यो जीवको संख्या भने निकै कम रहेको मुनोजको भनाइ छ । तर उनीहरूको संख्या यति नै होला भनी तोक्न भने उनी हिच्किचाइन् । त्यहाँ ती बिराला देखेको एक वर्षपछि उनले सो प्रजातिको संरक्षण र यसको वासस्थान जोगाउन पहलकदमी लिइन्, जसलाई क्ला ट्रे क्याम्बोडियन फिसिङ क्याट प्रोजेक्ट नामकरण गरियो । यस प्रजातिका धेरैजसो वासस्थान मानवबस्तीसँग जोडिएका छन् ।
यस प्रजातिबारे गरिएको हालैको एक अध्ययनले पानी बिरालो रहने क्षेत्रहरू र मानवबस्ती रहेका ठाउँहरूमध्ये ८० प्रतिशत एक आपसमा खप्टिएको देखाएको छ । जसमा कृषि क्षेत्र र बस्ती पनि समेटिएको छ । पूर्वी भारतका समुद्री तटहरू, बंगलादेशका इन्डोग्यांगटिक समथर भूभाग, भुटान, भारत, नेपाल तथा पाकिस्तान, मेकङ नदी उपत्यका, क्याम्बोडियाका बाढीग्रस्त क्षेत्र, लाओस, थाइल्यान्ड र भियतनाममा मानव र पानी बिरालोका क्षेत्र धेरै जोडिएको पाइन्छ ।
पानी बिरालो छरिएर रहेको ठाउँमध्ये झण्डै ४० प्रतिशत क्षेत्र भारतमा पर्ने भएकोले यो प्रजातिको भविष्यसँग भारतको भूमिका महत्त्वपूर्ण हुन्छ । आफ्नो स्नातकोत्तरको शोधकार्यको अनुसन्धानका लागि दिव्याश्री राणाले यी क्षेत्रको स्थलगत भ्रमण गर्दा यो प्रजातिका लागि यसका हरेक वासस्थानमा आआफ्नै चुनौती छन् भन्ने देखिन् । उदाहरणका लागि, उत्तरपूर्वी समुद्री तटका मानिसका लागि माछा निकै मूल्यवान् चिज हो, त्यसैले आफ्ना पोखरीमा पालेका माछा खाइदिने बिरालोलाई उनीहरूले देखिसहँदैनन् ।
त्यहाँदेखि दक्षिणतर्फ भने बग्दो पानीमा माछा प्रशस्त पाइने हुँदा बिरालोले माछा खाए पनि त्यहाँका माझीले वास्ता गर्दैनन् । सो ठाउँका लागि वासस्थान क्षति ठूलो समस्या हो । हाल नेसनल सेन्टर फर बायोलोजिकल साइन्सेसमा पीएचडी गरिरहेकी राणालाई त्यहाँको स्थिति देखेपछि एउटा संरक्षण योजना (कन्जरभेसन ब्लुप्रिन्ट) बनाउने अवधारणा पलाएको हो । पानी बिरालोले ओसिलो र कम तापक्रम हुने होचो क्षेत्रमा बस्न रुचाउँछ भन्ने थाहा पाएपछि राणा र उनका सहकर्मीले सबैभन्दा पहिले भारतमा पानी बिरालोका सम्भावित वासस्थान रहेका तर त्यसबारे अध्ययन नभएका क्षेत्रहरूको एउटा खाका बनाए ।
उनीहरूले जिल्लास्तरमा त्यस्ता १५६ स्थान पहिचान गरे । ती बिरालाहरू थोरै संख्यामा र एक्लाएक्लै पनि रहेका छन् कि भनी त्यस्ता ठाउँहरूमा सर्वेक्षण गर्नुपर्ने अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूले उत्तरी भारत र नेपालको दक्षिणी क्षेत्रमा फैलिएका घाँसेमैदान तथा जलाधार क्षेत्रहरूमा यी बिराला भेटिनसक्ने सम्भावित थुप्रै ठाउँहरू पहिचान गरे । राणाका अनुसार पानी बिरालोबारे भारतको तराई क्षेत्रमा कम अध्ययन भएको छ । यो क्षेत्र, पूर्वी समुद्री तट र उत्तरपूर्वमा पर्ने ब्रह्मपुत्र बाढीग्रस्त क्षेत्रमा पानी बिरालोका जोडिएका वासस्थान बढी भएको राणाको अध्ययनको पूर्वानुमान छ ।
विभिन्न क्षेत्रमा जोडिएर फैलिएका वासस्थान हुँदा पानी बिरालोले घुम्ने र आनुवांशिकरुपमा फरक नश्लसँग प्रजनन गर्ने मौका पाउँछन् । सो जीवको स्वस्थ संख्या कायम रहनका लागि यस्तो प्रक्रिया सहयोगी हुन्छ । तर सडक, रेलवे लगायतका मानवीय गतिविधिले उनीहरूको आपसी सम्पर्कलाई अवरोध पु¥याउने गरेको राणाले बताइन् । राणा र उनको टोलीले पानी बिरालो पाइने भारतका १२ राज्यलाई ‘संरक्षण सम्भावना भएका’ क्षेत्रका रुपमा अंक दिएकी छन् । ती राज्यमा छुट्याइएको बजेट, खुद कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र माझीहरूको जनसंख्याका आधारमा यो वर्गीकरण गरिएको हो ।
सो टोलीले बजेट र जीडीपीलाई सकारात्मक र माझीको जनसंख्यालाई नकारात्मक संकेतको रुपमा लिने गर्छ । माझीले जलाधार क्षेत्रको अधिक प्रयोग गर्ने र संरक्षण परियोजनाप्रति नकारात्मक हुने हुँदा त्यस्तो मूल्यांकन गरिएको हो । यी सूचकलाई आधार मान्दा पश्चिम बंगाल, उडिसा, उत्तरप्रदेश, बिहार र झारखण्ड ‘संरक्षण सफलतामा न्यूनतम सम्भावना भएका’ क्षेत्रमा पर्छन् । उत्तराखण्ड भने सबैभन्दा बढी संरक्षण सम्भावना भएको प्रदेशको रुपमा उदाएको छ ।
राणाको अध्ययनमा वासस्थानको गुणस्तर र पानी बिरालो पाइएका रेकर्डका आधारमा उच्चतम ‘संरक्षण प्राथमिकता’ भएका जिल्ला पहिचान गर्न दोस्रो जिल्लास्तरीय तहका तथ्यांकको पनि प्रयोग गरिएको छ । उच्च प्राथमिकता भएका त्यस्ता अधिकांश जिल्ला पश्चिम बंगाल र उडिसामा पर्ने सो अध्ययनमा देखिएको छ । ‘गैरसरकारी तथा सरकारी संघ–संस्थाको आर्थिक सहयोगमा जारी रहेका संरक्षण पहलहरूको विश्लेषण गर्नका लागि हामीले संयुक्तरुपमा संरक्षण योजना तर्जुमा गर्न अर्को जिल्लास्तरीय आँकडा प्रयोग गर्यौँ,’ राणाले भनिन् ।
सन् २०१० मा सुरु गरी हाल पश्चिम बंगाल र उडिसामा सञ्चालनमा रहेको द फिसिङ क्याट प्रोजेक्ट नामक अनुसन्धान तथा संरक्षण परियोजनाकी सहसंस्थापक तियासा आध्याको भने सो अध्ययनविधिबाट चित्त बुझेको छैन । संरक्षण कार्य सरकारी पक्षबाट मात्र नभएको र पन्थेरा, डब्लूडब्लूएफ–भारत, फिसिङ क्याट कन्जर्भेसन एलायन्सजस्ता गैरसरकारी संस्थाहरूको पनि लगानी हुने गरेको तर तिनलाई सो अध्ययनले नसमेटेको उनले औँल्याइन् ।
जीडीपीलाई त संरक्षणको सम्भावनाभन्दा वातावरणीय विनाशको सूचकको रुपमा लिनुपर्ने उनको भनाइ छ । पानी बिरालो संरक्षणको खाका बनाउँदा कति वासस्थान बाँकी रहन्छन् भन्ने ख्याल गर्नुपर्ने र त्योसँगै मानवीय गतिविधिका कारण खतराजनक बनेका ठाउँहरूको नक्सांकन पनि गर्नुपर्ने आध्याले बताइन् । ‘सडकमा मारिएका घटनाबारे हामीसँग धेरै तथ्यांक हुनुपर्छ, तबमात्र हामीले जोखिमपूर्ण सडकखण्ड पहिचान गर्न र समाधानका उपाय लागू गर्नसक्छौँ,’ उनले थपिन् ।
यो प्रजातिबारे अध्ययन प्रवर्द्धन गर्नका लागि यस वर्षदेखि द फिसिङ क्याट प्रोजेक्टले वेस्ट बंगाल जु अथोरिटीसँग सहकार्य सुरु गरेको छ । उनीहरूले जंगली जीवसँग द्वन्द्व हुने ठाउँका स्थानीयलाई आमन्त्रण गरी नियन्त्रणमा रहेका पानी बिरालोहरूको अवलोकन गराएर उनीहरूको पोषण र आनीबानीबारे जानकारी गराइएको थियो । ती जंगली जन्तुले माछालगायत मुसा आदि खाने हुँदा किसानलाई खेती जोगाउन सहयोग पुग्ने जानकारी गराएपछि सो प्रजातिप्रति स्थानीयको धारणामा परिवर्तन भएको आध्याले बताइन् । मानव–वन्यजन्तु द्वन्द्व बढी हुने पश्चिम बंगालको हावडा जिल्लाबाट दुईवटा पानी बिरालोलाई नियन्त्रणमा लिई चिडियाखानामा राखिएको थियो ।
चिडियाखाना भ्रमण र अन्तक्रियापछि स्थानीयले एक निवेदनमा हस्ताक्षर गरे । त्यसपछि ती बिरालालाई जंगलमा छाडिएको थियो । यो प्रजातिको एउटा महत्त्वपूर्ण वासस्थान चिलिका तालमा पानी बिरालो संरक्षणका लागि तर्जुमा गरिएको उडिसा सरकारको चिलिडा विकास प्राधिकरणको पाँचवर्षे कार्ययोजनामा पनि आध्या कार्यरत छिन् । जलाधार क्षेत्रमा उब्जाउ गरिने धानका परम्परागत प्रजातिहरूलाई प्रवर्द्धन गर्नु यो प्रारम्भिक योजनाको एउटा उद्देश्य हो । वर्षामा ६ फिटसम्म अग्लो हुने यो धानखेती पानी बिरालोका लागि मौसमी वासस्थान हुनसक्ने आध्याले बताइन् ।
तर त्यस क्षेत्रमा जग्गामा बढी प्रयोग गरिने सघन जलजन्य व्यवसायले जलाधार क्षेत्रको स्वरूप नै फेर्छन् र त्यसबाट चिलिका क्षेत्रमा निकै प्रदूषण हुने गरेको छ । त्यसले रैथाने माछालाई पनि असर गरिरहेको छ । स्थानीयरुपमा गरिने धानखेतीलाई ती जिल्लाहरूभन्दा बाहिरसम्म बजारीकरण गर्न सकिने र त्यसबाट पानी बिरालोको वासस्थान पनि जोगिने आध्याको अपेक्षा छ । ‘फिसिङ क्याट प्रोजेक्टले पानी बिरालो संरक्षण कार्यलाई स्वच्छ जलाधार र मानव जीविकोपार्जनसँग जोड्नुपर्ने अवधारणामा विश्वास गर्छ,’ आध्याले भनिन्, ‘हामीले सधैँ संरक्षित क्षेत्र सञ्जालभन्दा बाहिर काम गर्दै आएका छौँ किनभने मुख्यतः त्यहीँ नै पानी बिरालोहरू पाइन्छन् ।’
अन्य क्षेत्रमा बाँकी रहेका पानी बिरालो जोगाउने योजनाहरू बन्ने क्रममा छन् । क्याम्बोडियामा मुनोजको टोलीले खस्किँदै गएका म्यानग्रोभ वन ब्युँताउने अभियानमा काम गरिरहेको छ । सो प्रजातिको वासस्थान विस्तार गर्ने उद्देश्यले स्थानीय समुदायहरूलाई समेत सहभागी गराई सो कार्य थालिएको हो । उनीहरूले यस क्षेत्रमा क्रियाशील व्यक्तिहरू तथा समुदाय संरक्षण समितिहरूसँग मिलेर म्यानग्रोभ पुनरुत्थान कार्यमा आर्थिक व्यवस्था गर्ने लगायतका काम गरिरहेका छन् ।
उनले हाल रहेका बिरालामाथि नजिकबाट निगरानी गर्नुका साथै क्याम्बोडियाको दक्षिणपश्चिम क्षेत्रमा थप खोजीकार्यमा सहयोग गरिन् । मुनोजले क्याम्बोडियाको केन्द्रमा पर्ने तोन्ले साप लेकको एउटा क्षेत्रमा सर्वे पनि गरिरहेकी छन् । ‘त्यहाँ हामीले अहिले पनि पानी बिराला खोजिरहेका छौँ,’ उनले भनिन् । उनले लाओस–क्याम्बोडिया सीमामा पर्ने मेकङ नदीको बाढीग्रस्त जंगलको पनि सर्वे गर्ने तयारी गरेकी छन् । ‘बाँकी रहेका पानी बिरालालाई जोगाउन हामी सबै मिहिनेत गरिरहेका छौँ,’ मुनोजले भनिन् ।
Design : Aarush Creation
ऋचा मल्होत्रा । स्वतन्त्र विज्ञान पत्रकार