आमनिर्वाचन नजिकियो । निर्वाचन नजिकिँएसँगै राजनीतिक दलका नेताहरू देश दौडाहामा छन् । घरदैलो कार्यक्रममा व्यस्त छन् । गाउँगाउँमा दिनहुँ आमसभा, जुलुस र कोणसभा भइरहेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने छ । सत्तारुढ दल आवद्ध एउटा गठबन्धन छ । र, नेकपा एमालेको नेतृत्वमा अर्को गठबन्धन बनेको छ ।
दलहरू निर्वाचनमा यसरी होमिएका छन्, आफ्नो नीति सिद्धान्तहरूलाई बिर्सिए । एजेन्डा छाडेर फन्डा गरिरहेका छन् । सबैलाई सत्ता प्राप्त गर्नुछ । त्यसैले एजेन्डामा भन्दा फन्डामा बढी ध्यान छ । अहिले देश कसरी बनाउने ? समाजका विकृति कसरी हटाउने ? भन्नेमा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने हो । तर, दलहरूको ध्यान एकअर्काको विरोध गर्न र फन्डा मच्चाउनेमा केन्द्रित छ ।
आफूलाई राम्रो बनाउन अरूलाई नराम्रो भनिरहेका छन् । हिजो एकअर्काको विरोध नगरी बाँच्न नसक्नेहरू आज एकअर्काका प्रशंसा गरेर थाक्दैनन् ! हिजोका ‘हल गोरु’ले जुवाँ फुटाएका छन् । निर्वाचनको प्रचारहरू अनौठा–अनौठा भइरहेका छन् । उम्मेदवारहरूले नाटक देखाइरहेका छन् । नौटंकी गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जय नेपाल’ र ‘लालसलाम’ एउटै भनिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘०६३ को राजनीतिक परिवर्तनपछि देखि नै आफूले रूख चिन्हलाई अपनाइसकेको’ र ‘गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालेको’ रहस्य खोलेका छन् । यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘भाग्यमानी’ मतदातालाई फोन गरिरहेका छन् । फेसबुक म्यासेन्जरमा फोन नम्बर मागिरहेका छन् ।
फोनमा भएका कुराकानी सामाजिक सञ्जालमा पोष्ट गरेर प्रचार गरिरहेका छन् । नेपालीमा उखान छ, ‘अरूलाई केके धन्दा, घरज्वाइँलाई खानकै धन्दा ।’ यस्तै भएको छ अहिले । किसानलाई पाकेको बाली भित्र्याउन चटारो छ । वर्षा भयो भने सबै सखाप पार्छ भन्ने चिन्ता छ । आकाश हेर्दै धमाधम बाली भित्र्याइरहेका छन् । उनीहरूको मुख्य प्राथमिकतामा बाली भित्र्याउनमा छ ।
तर, राजनीतिक दल र तीनका नेता कार्यकर्तालाई भने निर्वाचनको चटारो छ । नेताबीच मतदाताको चुलो चौकोमा पुगेर सघाएकोदेखि खेतबारीमा रमाएको देखाउने प्रतिस्पर्धा चलेको छ । जनताको ध्यान खिचेर निर्वाचनमा जित निकाल्न आतुर छन् । किसान बिहानदेखि साँझसम्मै खेतबारीमा व्यस्त । घरमा केही नभेटिएपछि उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पग्छन् । भोट माग्छन् । पूरा नहुने वाचा गर्छन् !
आफ्नो पक्षमा माहोल बनाउन क्यारेमबोट खेल्छन् । मक्कै पिस्न सघाउछन् । विशाल भट्टराई, योगेश भट्टराई, भानुभक्त जोशी, कमल थापालगायतले क्यारमबोट खेल्दै भोट मागे । खेल जिते नजिते पनि गाउँका बेरोजगारी युवाको मन जित्ने प्रयास गरे । जुत्ता लगाएर जनताको चुलासम्मै गएको फोटो भाइरल बन्यो । चुनावी स्टन्टका लागि जनताको चुलासम्म जुत्ता लगाएर पुगेको भन्दै आलोनाचना भएपछि फोटो सामाजिक सञ्जालबाट हटाउन बाध्य भए ।
अझ रोचक कुरा– नेपालका सबैभन्दा धनी व्यक्ति हुन्, विनोद चौधरी । उनलाई सामान्यतया आम मान्छेले भेट्नै पाउँदैन । भेट्नका लागि अनुमति लिनुपर्छ । अनुमति लिएर भेट्न जानेहरूले पनि थुप्रै चरणको सेक्युरिटी पार गरेर जानुपर्छ । तर, अहिले उनी कतै मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका हुन्छन् । कतै छाप्रोको पेटीमा बसिरहेका देखिन्छन् । कतै टपरीमा भात खाइरहेका भेटिन्छन् ।
कतै सर्वसाधारणसँग कुरा गरिरहेका हुन्छन् । उनी यति सरल हुनको एउटै मात्रै कारण हो, निर्वाचन । उनलाई प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले नवलपरासी–१ बाट उम्मेदवार बनाएको छ । त्यसैले उनी यति सरल र मिजासिला बनेका हुन् ! तर, यो सबै उनको चुनावी फन्डा हो ! यदि कांग्रेसले टिकट नदिएको भए नवलपरासीवासीले उनीलाई प्रत्यक्ष देख्न समेत पाउने थिएन । भलाकुसारी गर्न परको कुरा !
मतदाताको मन जित्न नेताहरूले जस्तोसुकै नाटक गरिदिन सक्छन् । हिजो पनि गरेकै हुन् । आज पनि गरिरहेकै छन् । र, जनता सचेत नभएसम्म यस्ता नाटकहरू मञ्चन भइरहन्छ । चुनावी फन्डा ‘फीजिकल’ त छँदैछ ‘डिजीटल’मा पनि उत्तिकै छ । सबै उम्मेदवारले सामाजिक सञ्जालबाट चुनाव प्रचारप्रसार गरिहेका छन् । विज्ञापनका रूपमा ‘बुस्ट’ गरिएका पोस्टहरू फेसबुकमा छरपस्ट देखिन्छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर र धरान उपमहानगरका उम्मेदवारहरू बालेन साह र हर्क साम्पाङले सामाजिक सञ्जालको व्यापक प्रयोग गरेका थिए । र, जिते पनि । त्यसैले संघ र प्रदेशको निर्वाचनमा उनीहरूको शैली अपनाएका छन् । सामाजिक सञ्जालमा छुट्टै एकाउन्ट बनाएर ‘जिताउ अभियान’ नै चलाएका छन् । पैसा तिरेर योजनाबद्ध शैलीमा प्रचार भइरहेको छ ।
अहिले जनसंख्याको बहुमत हिस्सा इन्टरनेट र सामाजिक सञ्जालमा जोडिएका छन् । त्यसैले पनि ‘डिजीटल’ प्रचार भरपर्दो माध्यम बनेको छ । उम्मेदवारले घोषणापत्रका आकर्षक प्रतिबद्धता, उसँग जोडिएका नयाँ पुराना अडियो–भिडियो क्लिप्स, फोटोहरू, ब्यानर, पोस्टर, समाचार र जानकारीहरू सामाजिक सञ्जालमा राखेर प्रचार गरिरहेका छन् । उम्मेदवारलाई फाइदा पुर्याउने र प्रतिद्वन्द्वीलाई नोक्सान हुनेगरी भिडियो क्लिप्स र विभिन्न सामग्रीहरू सामाजिक सञ्जालमा व्यापक छ ।
लामो अन्तर्वार्ताको ‘पन्च लाइन’ वा ‘टंग स्लिप लाइन’ निकालेर गरिएका प्रचार वा दुष्प्रचार छ्यापछ्याप्ती छन् । यस्ता नाटक र नौटंकीले संसदीय अभ्यासदेखि अहिलेसम्म गरेका सारा कुकर्म र कुकृत्यहरू जनताले भोट खसाल्ने दिनमा बिर्सिदिन्छन् । त्यही भएर यस्ता नाटक र नौटंकी देखाउन राजनीतिक दल र उम्मेदवारहरू उद्यत् छन् । आम जनजिविका र दैनिकी सरोकारसँग जोडिएका विषयमा उम्मेदवारलाई कुनै चासो छैन ।
घरमा चुल्हो बल्यो कि बलेन ? धारामा पानी आउँछ कि आउँदैन ? खेतमा कुलो पुगेको छ कि छैन ? किसानले समयमै मल पाए कि पाएनन् ? वृद्ध बाबुआमाको स्याहारसुसार गर्ने युवा नेपालमै छन् कि छैनन् ? विद्यार्थीले समयमै किताब पाएकी पाएनन् ? बिरामी पर्दा अस्पताल जान सक्ने आर्थिक अवस्था छ कि छैन ? गाउँ समाजमा बेथिति, अनियमितता छ कि छैन ? शान्ति सुरक्षा छ कि छैन ?
सरकारी निकायले गर्नुपर्ने सेवा प्रवाह भयो कि भएन ? भन्ने विषयमा कुनै दलका नेताको ध्यान गएको छैन । राजनीति सेवामुखी हुनुपर्ने हो । तर, यहाँ नाफामुखी व्यापार बनाइरहेका छन् । त्यसैले यसपालिको निर्वाचनमा नौटंकी देखाउनेलाई होइन, नागरिकका चाहना र मर्म बुझ्ने नेतालाई भोट दिऔँ, अलमल नपरौँ, सचेत बनौँ ।
नवीन राई । लेखक