प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।
मतदानका लागि नौ दिन बाँकी रहँदा नेपालगन्ज नाका हुँदै पश्चिम नेपालका सयौं युवाहरु रोजगारीका लागि भारततर्फ जान बाध्य छन् । भारतबाट निर्वाचनमा सहभागी हुन स्वदेश फर्किने र रोजगारीका लागि भारत छिर्ने युवाहरुको सङ्ख्या धेरै छ ।
रोजगारीका लागि भारत गएकाहरु मतदान गर्न फर्किने र खेतीपातीको काम सकेर रोजगारीको खोजीमा भारत छिर्ने नेपाली युवाहरुको जमात देख्न सकिन्छ, नेपाल–भारत सीमा नाका जमुनाहा नाकामा ।
देश चुनावमय बन्दै गएको बेला पनि दैनिक ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि भारत गइरहेका छन् । समूह–समूह बनाएर भारततिर जाने नेपालीको नेपालगञ्ज नाकामा अहिले पनि लर्को नै लागेको प्रहरीले जनाएको छ ।
विशेष गरेर कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट, रुकुम, रोल्पाका नागरिक यो नाका हुँदै भारततर्फ गइरहेका छन् । उनीहरूमध्ये धेरैको गन्तव्य भारतको कालापहाड, सिमला, प्रयाग, हैदरावाद र गुजरात हुने गरेको छ ।
निर्वाचनको बेला भारत जान लागेका कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटका हर्कबहादुर विकले मलाई चुनावमा मत हालेर कसैलाई जिताउने र कसैलाई हराउने रहर छैन, हामीले भोट हालेर के नै हुन्छ र ? भन्दै दुःखेसो पोखे ।
कर्णाली प्रदेशका बहुसङ्ख्यक नागरिकले भारत गएर मौसमी मजदुरी गर्न बाध्य रहेको बताउँदै विकले काम नपाएपछि पेट पाल्न भारत जानैपर्ने बाध्यता रहेको बताए । आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने हुँदा धेरैजना परिवारसहित नै मजदुरी गर्न भारत जानुपरेको नाकामा भेटिएका अधिकांशको भनाइ छ ।
सल्यानका दीपक सुनारले चुनावको मतलब नगरी कमाउन हिँडेको बताए । ‘चुनावमा मतदान गर्न बसिएन । हामी मजदुरी गरेर खानेलाई केको चुनाव ? अहिले गए पनि उही र पछि गए पनि उही, आखिर जानैपर्छ,’ सुनारले भने । भारतको रुपैडिहाबाट विभिन्न स्थानका लागि छुट्ने अधिकांश बसमा नेपालीमात्रै देखिन्छन् ।
अहिले रुपैडियाबाट नेपालीमात्रै भरिएर दैनिक ८–१० वटा बस गइरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाले दैनिक ५०० भन्दा बढी नेपाली कामका लागि भारततिर गइरहेको जनाएको छ ।
उमेदवार गाउँतिर, मतदाता मुग्लानतिर
आसन्न निर्वाचनका लागि यति बेला नेता एवं उमेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदानका लागि अब नौ दिन मात्र बाँकी छ । तर, सुदूरपश्चिम प्रदेशका नागरिकमा भने रोजीरोटीका लागि मुग्लान (भारत) जाने चटारो देखिन्छ ।
अहिले कैलालीका गौरीफन्टा र त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जानेको लर्को नै लागेको छ । सुदूरपश्चिमबाट परदेशिनेको संख्या दिनानुदिन बढ्दै गएको छ । धनगढीको त्रिनगर भन्सार नाका हुँदै भारत जान लागेका मीनराज काफ्ले भन्छन्, ‘अहिलेसम्म कसै नेताले रोजगारीका लागि कलकारखाना खोलेनन्, हामीले यहाँ रोजगारी पाउँदैनौँ । अनि, भारत नगएर के गर्नु ?’
मतदानको दिन पखर्नुभन्दा चाँडै भारत पुग्न पाए छिट्टै आम्दानी गर्न सकिने उनी बताउँछन् । तिहार मनाउन घर फर्किएका नेपाली निर्वाचनको माहोल तातिरहेका बेला रोजगारीका लागि भारत जान थालेका हुन् । ‘चुनावको भोटले पेट भरिँदैन,’ काफ्लेले भने, ‘भोको पेट भर्न भोट छाडेर भए पनि भारत छिर्नुपर्ने बाध्यता छ ।’
उनले नेताहरूप्रति आक्रोश पोख्दै भने, ‘किन चाहियो चुनाव ? किन चाहियो नेता ? हामीले जहान परिवार पाल्न परदेशिनु नै पर्ने हो ।’ भारत जान लागेका अर्का युवा टेकसिंह रावलले भने, ‘चुनावका बेला मात्रै हो नेताहरूले युवालाई यहीँ रोजगारी दिने भन्दै गाउँमा माइक लगाएर फुक्छन् । तर, आम नेपालीले अरूको देशमा काम गर्न जानुपर्ने बाध्यता वर्षौँदेखि टरेको छैन ।’
आफू रोजगारीका लागि पहिलोपटक निर्वाचनमा भोट हाल्न छाडेर भारत पस्न लागेको भन्दै उनले दुःखेसो पोखे । ‘हो भोट हाल्न मन त थियो, तर के गर्नु ?’ उनले भने, ‘भोटभन्दा भोको पेट ठूलो रै’छ ।’ १० वर्षदेखि भारतमै रोजगारी गर्दै आएकी गीता विकले पनि दसैँ, दिपावली मनाइसकेर आफू पुनः भारत जाँदै गरेको बताइन् ।
उनले भनिन्, ‘स्वदेशमै सीपअनुसारको काम हुने भए भोट हाल्न छाडेर अहिले किन भारत फर्कनुपर्थ्यो ? मनमा पीडा हुँदाहुँदै भारत छिर्दै छु ।’ सोही नाका भएर जाँदै गरेकी राधा धामी भारतमा आफूले मजदुरी गर्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘मजदुरी गर्ने वातावरण नेपालमै भए किन भारत छिर्थेँ ? यहाँ त्यस्तो अवसर नै छैन र त चुनावको मुखैमा भोट हाल्न छाडेर मुग्लान छिर्नुपरेको छ ।’
सत्यपाटी संवाददाता । बाँके । कैलाली