सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा कारागारमा ३८ जना मतदाता

आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागार बझाङमा रहेका कैदीबन्दीमध्ये ३८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारमा ७० जना कैदीबन्दी रहेका जनाइएको छ ।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी भक्त दमाईले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताए ।

उनले भने, ‘कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा ३८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।’ जिल्ला कारागार बझाङमा हाल ७० जना पुरुष कैदीबन्दी मात्रै रहेको जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले बताए ।

यसैगरी निर्वाचनमा बझाङमा कार्यरत १ हजार ६५९ जना कर्मचारीले पनि मतदान गर्न पाउनेछन । उनीहरूले आफू जहाँ निर्वाचनमा खटिएका छन । त्यहीँबाट मतदान गर्न पाउने भएका छन । उनीहरूले पनि प्रतिनिधिसभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउनेछन् ।

निर्वाचनमा नखटिएका कर्मचारीहरुले समेत मतदान गर्ने छन् । कर्मचारीहरुका लागि जिल्ला समन्वय समिती बझाङको सभाहलमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।

निर्वाचनमा २ हजार २८ कर्मचारी खटिने

निर्वाचन सम्पन्न गराउन बझाङमा २ हजार २८ जना कर्मचारी खटिने भएका छन । मतदान अधिकृत १८६ जना, सहायक मतदान अधिकृत १८६ जना, सहायक कर्मचारी एक हजार ९२० जना, कार्यालय सहयोगी १८४ जना र स्वयंसेवक एक हजार ५५२ जना खटिने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १७:०७