सूचनाको शक्ति - The Power Of Information

        

सिनेमा-प्रविधि

किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’ ?

‘अहिले ओटिटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माता आकर्षित भइरहेका छन् । गत दसैँमा प्रदर्शन गरेका दुई फिल्मले राम्रो मुनाफा दिएका छन् ।’

ओटिटी (ओभर द टप)प्रति आकर्षण लकडाउनको समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा डिजिटल प्लेटफर्म रोजे । अन्तर्राष्ट्रियरूपमा सुरु भइसकेको नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने ।

नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरूपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो ।

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास गरिरहेको बताए । ‘युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्मसमेत उपलब्ध गराएका थियौँ । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्षपश्चात म सञ्चालकको रूपमा जोडिएँ,’ अभिनेता लामिछाने भने, ‘नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्त छौँ । हामीले त्यसको तयारीसमेत थालिरहेका छौँ ।’

उनले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताए । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवालले पाइरेसीको समस्याले ओटिटीमा जोखिम देखिने बताए । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए ।

‘पाइरेसी गर्नेलाई कडा कारबाही नहुँदा समस्या देखिएको हो । युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्ममार्फत आकर्षित नगरेका होइनौँ, तर लकडाउनले केही असर गर्यो,’ सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पुर्याइरेहेको छ । अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिए ।

‘सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ । हामीले केही समय अगाडि एक जनालाई सजायसमेत दिलाएका थियौँ । पाइरेसीसम्बन्धी शिक्षाको कमीले नै यस्तो भइरहेको छ,’ अभिनेता लामिछानेले भने, ‘अहिले ओटिटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माता आकर्षित भइरहेका छन् । हामीले गत दसैँमा प्रदर्शन गरेका दुई फिल्मले राम्रो मुनाफा दिएका छन् ।’

उनले एपमा ‘कबड्डी ४ – द फाइनल म्याच’ रिलिज गरेका छन् । यसले नयाँ दर्शक थपिने र पुरानो फिल्मसमेत हेरिने विश्वास उनको छ । ‘अहिले हाम्रो मुनाफा भनेकै दर्शक हुन् । सिनेमाघर चार लाखपटक डाउनलोड भइसकेको छ । उहाँहरूमा नेपाली ओटिटीमा फिल्म हेर्ने बानी विकसित भएमा आउँदो दिनमा हामीले सफलता पाउनेछौँ,’ अभिनेता लामिछानेले भने ।

निर्देशक रामबाबु गुरुङले आफ्नो फिल्म युट्युब अगाडि एपमा दिनुको कारण दर्शक विकास र बजारको सम्भावना रहेको बताए । ‘हामी कहाँ भएको ओटिटीमा दर्शकलाई आकर्षित गर्न प्रदर्शन गर्दैछौँ । यसले आउँदा दिन सहज हुनेमा विश्वत छु,’ निर्देशक गुरुङले भने । डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्ड पनि तयार रहेको सदस्य फणिन्द्र कटवालले बताए ।

‘सञ्चार मन्त्रालयले यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । कार्यविधि तयार गरेर ओटिटीलाई सघाउने हाम्रो योजना छ,’ सदस्य कटवालले भने । उनकै संयोजकत्वमा बोर्डले ओटिटीलाई नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गर्दैछ । नेपालमा सञ्चालनमा आएका ओटिटी भनिने डिजिटल प्लेटफर्मले नयाँ कन्टेन ल्याउन नसक्दा दर्शक विदेशी प्लेटफर्ममै रमाइरहेका छन् । ठूलो पर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहेता पनि यसले पूर्णता पाउन सकेको छैन ।

स्रोत : रासस
प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १६:५४