दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङ लगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आएकी छिन् ।
उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन् । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छिन् । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उनी बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन् ।
‘मैले यतै आएर चलाउन सकेकी हुँ,’ चालक अनिता बताउँछिन् । ‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए,’ उनले भनिन्, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।’ घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउँथे ।
उनीसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउँछिन् । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ । करिब एक महिना चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने भइन् ।
मेसिन राम्ररी चलाउन सक्ने भए पनि उनीसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिइन् । परीक्षामा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला थिइन् । ‘पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफ भएँ,’ अनिता भन्छिन् ।
उनले त्यसपछि जागिरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माण सम्बन्धी काम गरिन् । ‘ग्रेडर मेसिन चलाउन सक्थेँ, तर लाइसेन्स नहुँदा समस्या थियो,’ उनले भनिन्, ‘२०७६ साल भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिएँ । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।’
अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनको भनाइ छ । ‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ,’ चालक अनिता भन्छिन्, ‘तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न अरु महिलालाई उनको सल्लाह छ ।
निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ,’ अनिताले भनिन्, ’धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।’ अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुन् ।
स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेकी उनले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन् । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थालिन् । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनी सम्झिन्छिन् । ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ,’ अनिताले भनिन् ।
सत्यपाटी संवाददाता । दाङ