सूचनाको शक्ति - The Power Of Information

        

‘कबड्डी ४’ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

नेपाली चलचित्र ‘कबड्डी ४’ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ ।

बिहीबार सिनेमा घर एपका सञ्चालकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताउनु भयो । उहाँले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकेको बताउनु भयो ।

अभिनेता लामिछानेले सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको र चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएको बताउनु भयो । उहाँले नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताउनुभयो ।

अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्न सकिने बताउनुभयो । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ आज शुक्रबारबाट चल्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ०८:२७