सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनी सेना खर्सोन फिर्ता लिन अघि बढ्दै

रुसले आफ्नो सेनालाईपछि हट्न आदेश दिए लगत्तै युक्रेनी सेना दक्षिणी शहर खर्सोन पुनः नियन्त्रणमा लिन अघि बढेको छ ।

रुसी आदेशको २४ घण्टा वित्दा नवित्दै महत्वपूर्ण उपलब्धि हात लागेको युक्रेनी सेनाको भनाइ छ । सात किलोमिटर क्षेत्र युक्रेनको हातमा आएको र सेना खर्सोनको बाहिरी काँठमा पुगेको कीभको भनाइ छ । रुसले आफ्नो सेनालाई डेनिप्रो नदी तरेर बस्न आदेश दिएको छ भने खर्सोन पूरै छाड्न एक साता लाग्ने जनाएको छ ।

युक्रेनले भने रुसको चालबाजी पनि हुनसक्ने भन्दै सतर्कतापूर्वक अघि बढ्न सेनालाई भनेको छ । युक्रेनी सेनाका सेनापति भ्यालेरी जालुज्नीले रुसी सेना फिर्ता भए नभएको निश्चित नभए पनि आफ्नो सेना भने अघि बढिरहेको बताएका छन् । खर्सोन नकिजका क्षेत्रमा स्थानीयले युक्रेनी सेनालाई स्वागत गरेको भिडियोहरु सामाजिक सञ्जालमा आईरहेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको हातमा गएको खर्सोन एक मात्र क्षेत्रीय राजधानी हो भने रुसले एकलौटी जनमत संग्रह मार्फत खर्सोनलगायत ४ वटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ०८:०४