सूचनाको शक्ति - The Power Of Information

        

यौन दूराचारमा मुछिएका नाना पाटेकर अभिनयमा फर्किंदै

भारतीय अभिनेता नाना पाटेकर लामो समयदेखि अभिनयबाट टाढा छन् ।

यौन दूराचार प्रकरणका कारण उनी फिल्मबाट टाढिएका थिए । अब, उनी चाँडै निर्देशक प्रकाश झाको आगामी वेब सिरिज ‘लालुबत्ती’ मार्फत अभिनयमा पुनरागमन गर्दैछन् ।

नाना पाटेकर पछिल्लो पटक सन् २०२० मा रिलिज भएको फिल्म ‘इट्स माई लाइफ’मा देखिएका थिए । अभिनेत्री तनुश्री दत्ताले लगाएको मीटूको आरोपपछि उनी लामो समय अभिनयबाट टाढिएका थिए ।

त्यसपछि नानाले धेरै आलोचनाको सामना गर्नुपर्‍यो । यस घटनापछि उनले हाउसफुल ४ जस्तो व्यावसायिक हिट फिल्म समेत गुमाउनुपर्‍यो । तर, नानाले आफूमाथि लागेको मीटू आरोपलाई अस्वीकार गर्दै आएका थिए ।

नाना र प्रकाशले यसअघि फिल्म ‘राजनीति’मा सहकार्य गरिसकेका छन् । सन् २०१८ मा मीटू मुभमेन्टको क्रममा तनुश्रीले नानामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

सन् २००८ मा निर्माण भएको फिल्म ‘हर्न ओके प्लीज’को सेटमा नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप तनुश्रीले लगाएकी थिइन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०९:४९