सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनू : मौसम विभाग

तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ ।

फाइल तस्वीर

देशका विभिन्न भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ ।

हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभाग बताउँछ । हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन विभागको आग्रह छ ।

तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ । हाल नेपालका पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०७:५२