सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन्, इस्तियाक राईका ‘दश दृष्टि’

 बाँके क्षेत्र नं. २ काउम्मेदवार मो. इस्तियाक राईले ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। उम्मेदवार राईले दश बुँदामा आफ्नो दृष्टि सार्वजनिक गरेका हुन्।

प्रदेशका दुई उम्मेदवारलाई दायाँ र बायाँ राखेर सार्वजनिक गरिएको दश दृष्टिअन्तर्गत स्वस्थजीवन, देशकै धनमा पाँच वर्षभित्र कम्तीमा पाँच वटा नमुना स्वास्थ्य संस्था बनाउने, नशाजन्य तथा मुटु, फोक्सोलगायत दीर्घ र जटिल रोगका बिरामीका लागि भेरी अस्पतालमा विशेषज्ञ युनिट, नेपालगञ्जलाई मेडिकल हब बनाउने, सरकारी स्वास्थ्य संस्थामा एमडी, एमएस शिक्षणका लागि पहल गर्ने उल्लेख गरिएको छ।

जीवनका लागि शिक्षा, समृद्धिका लागि शिक्षामा गुणस्तरीय शिक्षाबाट कुनै पनि नागरिक वञ्चित हुनु हुँदैन भन्ने जनता समाजवादी पार्टी नेपालको स्पष्ट नीति हो भनिएको छ। कृषि र किसानमा मनिकापुरमा व्यावसायिक गौशाला र बोटानिकल गार्डेन, पशु एम्बुलेन्स, समयमै मलबीउ, दिगो सिँचाइ योजना, स्मार्ट किसान, व्यावसायिक कृषि, उत्पादन र बजारको सेतु भन्ने नारा अघि सारिएको छ।

खेल र खेलाडीमा स्थानीय खेलको पुनर्जागरण, खेल पर्यटनको विकास, नेपालगञ्ज रंगशालाको व्यावसायिक प्रवद्र्धन, हरेक वडामा खेल संरचना, व्यावसायिक खेलाडी, सम्मानित खेल जीवन भनिएको छ।

युवाशक्ति, विकास र रोजगारीमा स्वरोजगार युवा, आत्मसम्मानित जीवन, निर्णायक युवा प्रतिनिधित्व, सीप र अनुभवको सम्मिश्रण, दक्षजनशक्ति उत्पादनलाई अघि सारिएको छ।

सामाजिक सुरक्षामा ज्येष्ठ नागरिकको कदर, घरदैलोमै सुविधा अनि सम्मान, नारी शक्ति, उनकै हातमा ढुकुटी, प्रजनन अधिकारमा महिलाको निर्णायक भूमिका भनिएको छ।

वातावरण, हरजीवको जीवनमा हरित गाउँसहर, एक जिउ, एक बिरुवा, जैविक विविधता संरक्षण, वातावरणमैत्री विकास, पर्यावरण नबिगार्ने संरचना, आधारभूत शिक्षामै वातावरणको ज्ञान भन्ने नारालाई अघि सारिएको छ।

पूर्वाधार विकास, समृद्धिको आधारमाचालु आयोजनालाई पूर्णता, नयाँ आयोजना सिर्जना, आफ्नै पौरख, हरेक वडामा प्राथमिकताअनुसार पूर्वाधार, पूर्वाधार निर्माणमा स्थानीयकै अपनत्व भनिएको छ।

पर्यटन र पर्यटन, अबको आर्थिक आधारमा पर्यटकीय स्थलको प्रवद्र्धन, पर्यटन पूर्वाधार निर्माण, समुन्नत सहर, सम्मानित व्यवसाय, नेपालगञ्ज टुरिजम ट्रान्जिट योजनालाई अघि सारिएको छ।

समुन्नत सहरमा नेपालगञ्ज सहरको व्यवस्थापन, योजना र कार्यान्वयन, संस्कृति र सहर, अवधि सांस्कृतिक पर्यटनको योजना, जमुनाहा हिल्सा सडकको योजना कार्यान्वयन, उदाउदासहर (ग्रामीण सहर) को व्यवस्थापन र आधुनिकीकरण, सिमाञ्चल क्षेत्रको व्यवस्थापन, निगरानी र आपसी समन्वय भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ।

प्रतिनिधि सभाका उम्मेदवार राईले प्रदेशका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाललाई राखेर पत्रकार साक्षात्कार गर्दै आफ्नो दश दृष्टि सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १८:१०