सूचनाको शक्ति - The Power Of Information

        

मतदाता शिक्षामा जोड दिन थाले बझाङका राजनीतिक दलहरु

स्थानिय तह निर्वाचनमा धेरै मत बदरको समाचार सुनेका बझाङका राजनीतिक दलले अहिले बझाङमा मतदाता शिक्षालाई जोड दिन थालेका छन् ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बझाङमा राजनीतिक दलहरु नै आफैं मतदाता शिक्षामा जोड दिन लागेका हुन । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बझाङका राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा समेत उत्सापूर्वक रुपमा जुटेका छन ।

राजनीतिक दलहरु अहिले निर्वाचन लक्षित अभियानलाई लिएर गाउँ गाउँमा मतदाता भेटघाटलाई तीव्रता दिएका छन । नेकपा एमालेले चुनावी अभियान अन्तरगत मतदाता शिक्षा र नमुना मतपत्र लिएर मतदाताको घरदैलोमै पुगेको छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष दमन भण्डारीले मतदाताहरुले निर्वाचनको महत्व, आवश्यकतालाई राम्ररी बुझून र मतदान गर्दा नविगारुन भन्ने हेतुले मतदाता शिक्षामा जोड दिइएको बताए ।

यसका साथै एमालेले जनगर्विय संघसंगठनहरुको सम्मेलन, बैठकसमेत जारी राखिएको छ । अध्यक्ष भण्डारीले भने, ‘जिल्लाका दशवटा गाउँपालिका र दुईवटा नगरपालिकामा अभियान तीव्र पारिएको छ ।’

‘त्यसैगरी गठबन्धन दलले चुनावी अभियान अन्तरगत वडातहमा पुगेर घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । नेपाली कांग्रेस बझाङका पुर्वपार्टी सभापती हर्कजंङ बहादुर सिंहले निर्वाचनको महत्व बुझाउन र जनताको मन जित्न वडातहका मतदातासँगको घरदैलो कार्यक्रम भैरहेको बताए ।

उनले स्थानीय संगठनहरुलाई सक्रिया पार्दै जनताबीच चुनावी प्रचारका काम भइरहेको समेत बताए । साथै मतदाताहरुको समस्याको पहिचान गरी संस्थागत गर्ने काम भइरहेको उनको भनाई छ । त्यसैगरी, गठबन्धन दल र एमाले दुबैले चुनावी अभियानमा गाउँगाउँमा प्रचार समिति गठन र सक्रिय पार्दै प्रचारको कामलाई प्राथमिकता दिएको छ ।

प्रचारको माध्यमबाट जनतामा चुनावी सन्देश प्रवाह गर्न महत्वपुर्ण पक्ष रहेकोले प्रचार समितिहरुलाई सक्रिया पारिएको नेकपा एमाले जिल्ला निर्वाचन प्रचार विभाग प्रमुख आनन्दलाल विकले बताए ।

उनले प्रचारका साथ कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रम र मतदाता शिक्षालाई जोड दिइएको बताए । घोषणा पत्र गाउँगाउँमा पठाउने र चुनावी प्रचारलाई अगाडी बढाउने काम समेत तीव्र रुपमा अगाडि बढाइएको प्रमुख विकको भनाई छ ।

यसका साथै अन्य पार्टीहरु पनि चुनावी अभियानमा तीव्र रुपले लागि परेका छन् । दलहरुले प्रचारप्रचारलाई व्यापक बनाउँदै मत माग्नका लागि तीव्र अभ्यास पनि गरिरहेको जनाएका छन ।

बझाङमा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकृकीत समाजवादीले गठबन्धन गरेर सयुक्तरुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

गएको स्थानियतह निर्वाचनमा प्रमुख, उपप्रमुखको मत हेर्दा खसेको मतको २८.३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमल प्रसाद गौतमले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १८:०३