सूचनाको शक्ति - The Power Of Information

        

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङको साइपाल गाउँपालिकाबाट मत पेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ । जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका संकलनका लागि हेलिकप्टरको माग गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साइपाल गाउँपालिकाका पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । ‘सडक सञ्जालले साइपाल जोडिएको छैन,’ उनले भने, ‘त्यहाँबाट बोकाएर ल्याउन कम्तिमा तीन दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका छौं ।’

गृह मन्त्रालय, निर्वाचन आयोगसँग मतपेटिका संकलनका लागि हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उनले बताए । साइपालका पाँच वटा मतदान केन्द्रको प्रत्येकमा संघ, प्रदेश र समानुपातिक गरी चार वटा मतपेटिका हुन्छ । हरेक केन्द्रमा एउटा मतपेटिका थप पठाइएको हुन्छ ।

कर्मचारीहरु केन्द्रमा खटिएकाले मतगणना सुरु गर्ने जनशक्ति अभाव हुने हुँदा मतपेटिका सहित कर्मचारीलाई छिटो सदरमुकाम आउने ब्यवस्थाका लागि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । १८४ मतदान केन्द्र रहेको बझाङमा साइपाल गाउँपालिका–५ मा रहेको यारुङकुरुङ डाँडा सबैभन्दा टाढाको दुरीमा रहेको मतदान केन्द्र हो । मतपेटिका, मतदान सामग्री भने दुर्गममा बोकाएर लैजाने तयारी गरिएको छ ।

बझाङमा आइपुग्यो निर्वाचन सामग्री

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि बझाङमा सबै सामग्री आईपुगेको छ । ६२ प्रकारको मतदान सामग्री जिल्ला आईसकेको निर्वाचन कार्यालयका सुचना अधिकारी भक्त दमाईले बताए । ३० प्रकारका अनुसुची, सात प्रकारका पर्चा, पम्पलेट आएको छ । शुक्रबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु हुने उनले जानकारी दिए ।

तालिम २६ गतेसम्म चल्ने जनाइएको छ । कात्तिक १८ देखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले र एसएलसी पास नभएका स्वास्थ्य स्वयंसेविकाको हकमा वडास्तरीय मतदाता शिक्षा सञ्चालन समितिको सदस्य खटाएको छ । वडाभित्र पनि टोलटोलमा मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १५:४६