सूचनाको शक्ति - The Power Of Information

        

पाइलट विजय लामा ‘ग्राउन्डेड’ !

नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाएको छ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा निगमले पाइलट लामालाई उडानमा रोक लागाएको हो ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो ।

विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

‘उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो,’ निगमको अपरेसन विभागले जारी गरेको कारबाही पत्रमा लेखिएको छ ।

५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको निगमका एक निर्देशकले बताए ।

लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १०:५०