प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब १२ दिनमात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर–घर पुर्याउन दिनरात खटिएका छन् । निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ ।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको संख्या बढाउन सहयोगी बनेको हुनसक्छ । राजनीतिक दलहरुप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र कार्यकर्ता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको संख्या उल्लेख्य बढेको विश्लेषकहरुको भनाइ छ ।
काठमाडौँ उपत्यका अन्तर्गत पर्ने तीन जिल्लामा प्रतिनिधिसभाका लागि कायम १५ वटा सिटका लागि कुल ३६० उम्मेदवारमध्ये १२८ जना त स्वतन्त्र उम्मेदवार नै छन् । जुन ३५ दशमलव ५५ प्रतिशत हो । त्यसैगरी तीन जिल्लामा प्रदेश सभाका ३० सिटका लागि ३४० जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११९ जना अर्थात् ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभा अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढी छ ।
यस क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राजनीतिक दलका उम्मेदवारको संख्या १३ मात्रै छ । त्यसैगरी प्रदेशसभातर्फ सबैभन्दा बढी ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ र २ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा २५७ जनाले उम्मेदवारी दिएकामध्ये ९७ जना स्वतन्त्र उम्मेदवार छन् । भक्तपुरका २ निर्वाचन क्षेत्रमा ४० जना उम्मेदवारमध्ये १५ जना स्वतन्त्र छन् भने ललितपुरका ३ निर्वाचन क्षेत्रमा ६३ जना उम्मेदवारमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् ।
स्वतन्त्रको लहर
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपेशकुमार केसी आफूहरुको लडाइ अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउँछन् । निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या बढ्नुको अर्थ राजनीतिक दलहरु ‘सिन्डिकेट’को विरोध भएको उनको भनाइ छ । ‘राजनीतिक दलको ‘सिन्डिकेट’का कारण दलभित्रै पनि स्वतन्त्र विचारले स्थान पाउन छाडेपछि स्वतन्त्र उम्मेदवारहरु अगाडि आउनु परेको हो, परिवर्तनका नाममा धर्म र संस्कृति मास्ने काम हामीलाई स्वीकार्य छैन,’ उनले भने ।
केसी समानुपातिक प्रणालीका नाममा ४० प्रतिशत स्वतन्त्र विचारलाई मास्ने काम स्वीकार्य नभएको दाबी गर्छन् । ‘म स्पष्ट मिसन र भिजनका साथ राजनीतिमा आएको छु’, उनले भने, ‘अब मुलुकको जिम्मेवारी युवाको काँधमा आएको छ, सबैभन्दा माथि देश भन्ने विचारलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो ।’ यो निर्वाचन मात्रै नभइ वैचारिक स्वतन्त्रताको लडाइ समेत भएको उनको भनाइ छ । स्वतन्त्र उम्मेदवारहरुको देशैभरी फैलिएको लहर परिवर्तनको पक्षमा एउटा ठूलो धक्का भएको उनको दाबी छ ।
केसीको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जन र नेकपा (एमाले)का प्रेमबहादुर महर्जनका साथै आफू जस्तै अन्य सात जना स्वतन्त्रसँग हुनेछ । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका महर्जनले २०७४ सालमा नेकपा (एमाले)का उम्मेदवारकारुपमा २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका थिए । महर्जनसँग पराजित नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राजेन्द्रप्रसाद पाठक संविधान प्रदत्त मौलिक हक स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क बनाउने आफ्नो एजेन्डा रहेको बताउँछन् । लामो समय कानून र पत्रकारितामा सक्रिय पाठक मौलिक हकको पूर्ण कार्यान्वयनमार्फत् जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजनामा छन् । ‘स्वास्थ्य र शिक्षाबाहेक पानी र बिजुलीसमेत निःशुल्क गर्ने मेरो एजेण्डामा छ,’ उनले भने ‘म निर्वाचित भए प्रत्येक महिनामा दुई पटक स्थानीय तहको समस्या बुझेर समाधानमा केन्द्रित हुनेछु ।’
पाठक संघीय संरचना र धर्मनिरपेक्षता खारेज गर्ने पक्षमा आफूलाई उभ्याएका छ । लामो समयसम्म नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलमा आवद्ध भइ काम गरेका पाठक पछिल्लो एक वर्षदेखि पार्टी परित्याग गरी स्वतन्त्र भएका हुन् । त्यसैगरी २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएर चर्चा बटुल्न सफल रञ्जु न्यौपाने पनि यतिबेला स्वतन्त्र उम्मेवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका छन् ।
न्यौपानले चुनावी मैदानमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यसका साथै अभियन्ता हेमराज थापा पनि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । न्यौपाने आफू निर्वाचित भए मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउँछन् । ‘अहिले प्रत्येक घरमा मानसिक समस्या झेलिरहेका व्यक्तिहरु छन्, मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति पनि समयसापेक्ष छैन, त्यसलाई सम्बोधन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।
उसो त ‘लौरो’ चिन्हबाटै बालेन र हर्कले पाएको जीतबाट हौसिएका केही युवाहरुले ‘लौरो’ चुनाव चिन्हलाई अभियानका रुपमा अघि बढाएका छन् । लौरो अभियानलाई संगिठक स्वरुप दिँदै ‘हाम्रो नेपाली पार्टी’मार्फत् उनीहरु यतिबेला स्वतन्त्रकै शैलीमा निर्वाचनमा होमिएका छन् । काठमाडौँ क्षेत्र नं ७ बाट हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिएका इञ्जिनियर आकर्षण पोख्रेल (प्रबेन्द्र पोख्रेल) आफू निर्वाचित भएमा नीतिगत काममा केन्द्रित हुने बताउँछन् ।
पोख्रेलले यस क्षेत्रमा आफू जस्तै १३ जना राजनीतिक दलका उम्मेदवारका अतिरिक्त १६ जना स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषि) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे र एमालेका बागी उम्मेदवार राम बिर मानन्धरसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । लामो समय अमेरिकामा बसेर नेपाल फर्केका पोख्रेल निर्वाचन क्षेत्रमा जनताका धेरै ठूला माग नरहेका र ती माग सजिलै पूरा गर्न सकिने उनको दाबी छ । पोख्रेलले चुनावी एजेन्डामा १० वटा सङ्कल्प अगाडि सारेका छन् ।
‘यस क्षेत्रका जनतामा खानेपानी, सडक, खाल्डाखुल्डी, ट्राफिक, ढल, फोहोर, स्वास्थ्य उपचार र महङ्गीलगायतका कैयन समस्या छन्,’ उनले भने, ‘यी यस्ता समस्या हुन् जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ ।’ सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यक भएको पोख्रेलको भनाइ छ ।
त्यसका साथै, ढल तथा फोहोर व्यवस्थापन नीति बनाइ पूर्णरुपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने, सडक छेउछाउमा वृक्षारोपण गरेर हरियाली बनाउने, दक्षिण उत्तर पर्यटन राजमार्गको रुपमा अगाडि बढाउने र राष्ट्रिय पर्यटन नीति निर्माण गरी काम गर्ने आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । त्यसैगरी हाम्रो नेपाली पार्टीकै तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका सुमन सायमी सडक बिस्तारको स्थानीयबासीका समस्या समाधानमा आफू केन्द्रित हुने बताउँछन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा उम्मेदवार समेत रहेका उनले तत्कालीन समयमा १३ हजार ७७० मत प्राप्त गरेका थिए । स्थानीय तहमा प्राप्त गरेको मतले हौसिएर उनी यतिबेला प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । सडक विस्तारका क्रममा विस्थापित बासिन्दालाई रोजगारीसहित पुनस्र्थापनाको मुद्दा उठाउँदै आएका सायमीले लालपुर्जा नपाएका व्यक्तिलाई लालपुर्जा दिलाउनु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउँछन् ।
अच्युत रेग्मी । काठमाडौं