सूचनाको शक्ति - The Power Of Information

        

उपचारको दुख

अझै डोकोमै बोक्नुपर्छ विरामी

उपचार गर्न निकै दुख छ । हिँडाएर ल्याउने हो भने वृद्ध छन् । दमका विरामी भएकाले झन समस्या भएको छ ।

गाउँघरमा विरामी हुँदा होस् या लडेर घाइते हुँदा अझै स्वास्थ्य संस्थामा पुर्याउन स्थानीयहरु समस्या भोग्दै आएका छन् ।

बझाङ जिल्लाका कतिपय गाउँपालिकामा बाटोघाटो राम्रो नहुँदा र यातायातको पहुँचसमेत नपुगेको हुँदा बिरामीलाई पुरानै डोको (कन्डी)मै बोकेर स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने अवस्था रहेको छ । मष्टा गाउँपालिका वडा नम्बर ३ ढंडार घर भएका ७३ बर्षीया जोगगिरी धामीको उपचारको लागि सदरमुकाम चैनपुर ल्याइएका छन् ।

भरिया बनेर सदरमुकाम चैनपुर पुगेका आफन्त विरबहादुर धामीले भने, ‘के गर्नु गाडीमा ल्याउ भने सडक राम्रो छैन । गाउँघरमा स्टेचर छैन । उपचार गराउनै पर्यो,’ उनले भने, ‘बोकेरै भए पनि उपचार गर्न ल्याए, दुई दिनसम्म चैनपुरमा उपचार भयो, अब फेरि बोकेरै घर लिन्छु । उपचार गर्न पनि निकै दुख छ । हिँडाएर ल्याउने हो भने वृद्ध छन् । दमका विरामी भएकाले झन समस्या भएको छ ।’

मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले भने, वडा नम्बर ५ बाहेक सबै वडाहरुमा आइतबार मात्रै सडक सफा गरेर बाटो खोल्ने काम भएको बताए । स्वास्थ्य चौकीमा स्टेचर भए पनि स्टेचर मागेर स्वास्थ्य संस्थामा विरामी बोकेर ल्याउने बानीको विकास नभएको हुँदा विरामी बोकेर ल्याएको हुन सक्ने समेत अध्यक्ष बोहराको भनाई छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०७:३२