सूचनाको शक्ति - The Power Of Information

        

२०७९ कार्तिक २२ गतेको राशिफल : सिंहलाई फाइदा, कन्यालाई दौडधुप

२०७९ कार्तिक २२ गते, मंगलवार, ८ नोभेम्बर २०२२ । कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि, १५ः५८ बजेदेखि मार्ग कृष्णपक्ष प्रतिपदा । भरणी नक्षत्र । चन्द्रराशि– मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिले खर्च निम्त्याए पनि विशेष पुण्यकर्म सम्पादन हुनेछ । लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । प्रवासमा मान–सम्मान पाइने समय छ । पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनुका साथै मनको डर उत्साहमा रूपान्तरित हुनेछ । आलोचकहरूले कमजोरी औंल्याउने हुँदा विशेष ध्यान दिनुहोला, पछिको संकट टर्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ काम र आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ । सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ । तर खर्च बढ्नाले रकम सञ्चय गर्न नसकिएला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । विशेष जिम्मेवारी हात पार्ने मौका छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला । सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने हुँदा हिसाबकिताबमा होसियार रहनुहोला । सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुनेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला । प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूबाट केही सावधान भने रहनुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । मिहिनेतले फाइदा दिलाउनेछ । बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला । आजको कामबाट दिगो फाइदा हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०६:२७