सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

धनगढीमा प्रधानमन्त्री देउवाले जमाए डेरा, ‘फकाउँदै असन्तुष्ट’

स्वतन्त्र उम्मेदवार ओझाको पक्षमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता खुलेर चुनौती थपेपछि देउवाले धनगढीमा डेरा जमाएको विश्लेषण छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको अस्थायी राजधानी धनगढीमा छन् । गृहजिल्ला डडेल्धुराका विभन्नि सात ठाउँमा आयोजित आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी झरेका थिए ।

धनगढीस्थित आफ्नै निवासमा बसिरहेका प्रधानमन्त्री देउवा मंगलबारसम्म यहीँ रहने छन् । यस अवधिमा उनका औपचारिक कार्यक्रम भने तय भएका छैनन् । देउवा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

उम्मेदवार चयनको विषयमा असन्तुष्ट नेता कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई बोलाएर देउवाले छलफल गरिरहेका छन् । कैलालीका नेताकार्यकर्तासँग देउवाले चुनावी अवस्था र सम्भावित परिणामबारे जानकारी लिइरहेका छन् ।

सोमबार कैलाली क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि देउवाले निवासमा बोलाएर भेटेका छन् । यस्तै, देउवाले कांग्रेस नेता तथा कार्यकर्तालाई चुनावमा जित हासिल गर्न सशक्त ढङ्गले लाग्न निर्देशन दिइरहेका छन् ।

कैलाली क्षेत्र नं. ५ मा लामो समय कांग्रेसको राजनीति गरेका पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई चुनौती छ । ०७४ मा प्रधानमन्त्री देउवाकी पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवालाई हराएको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको थियो ।

स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन पराजित भएको थियो । स्वतन्त्र उम्मेदवार ओझाको पक्षमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता खुलेर चुनौती थपेपछि देउवाले धनगढीमा डेरा जमाएको विश्लेषण छ ।

वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त, प्रदेश सभा (१) मा माओवादीका रमेशसिंह धामी र प्रदेशसभा (२) मा आरजुका स्वकीय सचिव प्रकाश देउवा उम्मेदवार छन् । देउवाविरुद्ध कांग्रेसका युवा नेता क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ ०७४ मा जितेका नारदमुनि राना चुनावी दौडमा छन् । प्रदेशसभा (१) मा नेपालु चौधरी र प्रदेशसभा (२) मा दुर्गाप्रसाद जोशी उम्मेदवार रहेका छन् । आज र भोली धनगढीमै बिताउने प्रधानमन्त्री देउवाको बुधबार दार्चुला र बैतडीमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी काठमाडौं फर्किने छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १७:०६