प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा जिल्ला कारागार कार्यालय सुर्खेतका कैदीबन्दीले पहिलो पटक मतदान गर्न पाउने भएका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका १०१ जना कैदीबन्दीले मतदान गर्नेछन् । उनीहरुले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने जिल्ला कारागार कार्यालयका सूचना अधिकारी भुवन गौतमले जानकारी दिए ।
उनका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्नेछन् । कारागार कार्यालयबाट १०२ जना कैदीबन्दीको नामावली निर्वाचन आयोगमा पठाइएको र एक जनाको नाम मात्र मतदाता नामावलीबाट छुटेको गौतमले बताए ।
कारागारमै मतदान केन्द्र तोकिएकोले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कैदीबन्दीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ भने मतदान गर्न पाउने छैनन् ।
विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागार सुर्खेतमा ३७२ जना कैदीबन्दी रहेका छन् ।
कारागार कार्यालयका अनुसार ३३२ पुरष, ४० महिला र आश्रित ४ बालबालिका रहेका छन् । मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता बन्न पाउने व्यवस्था छ ।
सत्यपाटी संवाददाता । सुर्खेत