सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड भन्छन्, ‘गठबन्धन २० वर्ष लम्बिन्छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सत्तागठबन्धनले आगामी पाँच वर्षमात्र नभएर १५–२० वर्षसम्म निरन्तरता पाउनसक्ने बताएका छन् ।

निर्वाचनलगत्तै सत्ता गठबन्धन टुट्ने आशंका भइरहेका बेला प्रचण्डले राजनीतिक आवश्यकताका आधारमा गठबन्धन १५–२० वर्ष लम्बिने दावी गरेका हुन् ।

आइतबार (२० कार्तिक) अपरान्ह प्रचण्डले आगामी चुनाव र वाम लोकतान्त्रिक गठबन्धनको आवस्यकताबारे केही वामपन्थी तथा लोकतान्त्रिक खेमामा बुद्धिजीवीहरुसँग छलफल गरेका थिए ।

प्रचण्डसँगको कुराकानीमा पनि उनीहरुले गठबन्धनको निरन्तरताबारे चासो राखेका थिए । चुनावलगत्तै सत्ताको दाउपेचका कारण गठबन्धन टुट्ने सक्ने आशंका र प्रचार भइरहेका बेला प्रचण्ड भने वर्तमान गठबन्धन अहिलेको चुनावमा मात्र होइन, अर्काे चुनावसम्म पनि कायम रहनेमा विश्वस्त देखिए ।

आइतबारै एक जापानी सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रचण्डले वर्तमान सत्ता गठबन्धनले १५–२० वर्षसम्म निरन्तरता पाउने दाबी गरे । बुद्धिजीवीहरुले गठबन्धनको भविष्यबारे जिज्ञाशा राखेपछि उनले जापानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको प्रसङ्ग उल्लेख गर्दै ‘वर्तमान गठबन्धनले किन निरन्तरता पाउँछ’ भन्नेबारे आफ्नो तर्क पेश गर्न थाले ।

‘स्थिरता, समृद्धि र संविधानको रक्षाका लागि बनेको गठबन्धन हो यो,’ उनले भने, ‘मैले नै धेरै ज्ञान प्राप्त गरेपछि यो गठबन्धन निर्माण भएको बताउँदै आएको छु । मैले यसो भन्नुको धेरै गहिरो अर्थ छ, त्यसैले चुनावपछि गठबन्धन टुट्छ भन्ने आशंका र प्रचार सही होइन ।’

‘केपी प्रवृतिलाई परास्त नगर्दासम्म यो गठबन्धन जारी रहन्छ,’ उनले भने, ‘म आफैले धेरै मिहिनेत गरेर बनेको गठबन्धन हो यो । धेरै मिहिनेत गरेर निर्माण भएकाले यसको आयुपनि लामो नै छ । १५–२० वर्षसम्म नै यो गठबन्धन जानुपर्छ र जान्छ पनि ।’

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १०:३२