सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथमा ३ वटा नयाँ एम्बुलेन्स सञ्चालनमा

बाँकेको बैजनाथ गाउँपालिका कार्यालयले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको विभिन्न तीन वटा वडामा रहेका स्वास्थ्य चौकीका लागि आइतबार औपचारिक रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
एम्बुलेन्सको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले धार्मिक विधिपुर्वक पुजा गरेर उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले दिएको जानकारी अनुसार बैजनाथको वडा नम्बर १ चिसापनी, वडा नम्बर ३ नौवस्ता र वडा नम्बर ८ टिटिहिरिया स्थित स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाले एम्बुलेन्स सञ्चालन सम्बन्धी पास गरेको कार्यविधी अनुसार गर्भवती, सुत्केरी, आर्थिक रुपले अति विपन्न स्थानीय बासिन्दा, विपन्न जेष्ठ नागरिक, रातोकार्ड प्राप्त अपांगता ब्यक्तिलाई नि:शुल्क सेवा दिइनेछ ।

अन्य ब्यक्तिको हकमा जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिको दररेट अनुसार सेवा दिने गाउँपालिकाको योजना छ । एम्बुलेन्स सञ्चालनका लागि लाग्ने खर्चको ब्यवस्थापन तत्कालका लागि गाउँपालिकाले नै गर्ने भएको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी स्थित स्वास्थ्य चौकी प्राङ्गणमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले समयमै सहज रुपमा सेवा प्रदान गर्नका लागि र बिरामीलाई समयमै अस्पतालमा उपचार गराउनका लागि गाउँपालिकामा एम्बुलेन्स सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको बताए ।

एम्बुलेन्स सेवा सञ्चालनमा आइसकेपछि अब कसैले पनि बाटोमा ज्यान गुमाउनु नपर्ने बताए । संविधानको मौलिक हकभित्र स्वास्थ्य सेवा पर्ने भएकाले स्थानीय सरकारले यस कामको सुरुवात गरेको उनले सुनाए ।

यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बर्थिङ सेन्टर लागु भएका स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालन भएपनि सबै वडालाई समेट्ने बताइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०९:२३