सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

निर्वाचनमा खटिँदै दुई हजार ३४४ कर्मचारी

सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १३९ मतदान स्थलमध्ये २० वटा अति संवेदनशील रहेका छन् ।

समितिका अनुसार ८६ वटा संवेदनशील र ३३ वटा कम संवेदनशील रहेका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ मा कायम रहेका ७२ वटा मतदान स्थलमध्ये ९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ३ वटा कम संवेदनशील रहेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा ६७ वटा मतदान स्थलमध्ये ११ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ३० वटा कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सुरक्षा समितिले निर्वाचन क्षेत्र नं. १ (क) मा ७ वटा अति संवेदनशील, २४ वटा संवेदनशील, (ख) मा र २ वटा अति संवेदनशील, ३६ वटा संवेदनशील र ३ वटा मतदान स्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ (क) मा ७ वटा अति संवेदनशील र संवेदनशील मतदान स्थल छैनन् भने कम संवेदनशील २४ वटा मतदान स्थल रहेका छन् । त्यस्तै (ख) मा ११ अति संवेदनशील, २६ संवेदनशील र ६ वटा मतदान स्थल कम संवेदनशील छन् ।

निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक कामहरु भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल बर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताए ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा संवेदनशील रुपमा लिइएका मतदानस्थलहरुलाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको पनि प्रजिअ रिजालले जानकारी दिएका छन् ।

मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन भइसकेको पनि प्रजिअ रिजालले जानकारी दिए ।

सुर्खेतको पूर्व सिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशीलता मानिएका मतदानस्थलहरुको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।

निर्वाचनमा खटिँदै दुई हजार ३४४ कर्मचारी

निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार ३४४ जना कर्मचारी खटिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीले आवश्यकता अनुसार थप कर्मचारी र स्वयमसेवक खटाउन सकिने पनि जानकारी दिए ।

सूचना अधिकारी ज्ञवालीका अनुसार ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक मदतान केन्द्रमा एक–एक कार्यालय सहयोगी खटिनेछन् ।

उनले मतदानस्थल र मतदान केन्द्रमा खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको जानकारी दिए । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १३९ मतदानस्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ७२ मतदानस्थल र १४४ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं. २ मा ६७ मतदानस्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ (क) मा ३१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएको छ भने (ख) मा ४१ मतदानस्थल र ८० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. २ (क) मा २४ मतदानस्थल र ७३ मतदान केन्द्र तोकिएको छ भने (ख) मा ४२ मतदानस्थल र ७६ मतदान केन्द्र कायम गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०८:३३