चालू आर्थिक वर्षको साढे तीन महिनासम्मको राजस्व आम्दानीको आँकडाले आगामी दिनमा गम्भीर समस्या आउने संकेत देखाएको छ ।
यस वर्षको कात्तिक १७ सम्म सरकारले दुई खर्ब २८ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ । जबकी यही अवधिमा सरकारको चालू खर्च मात्र दुई खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।
राजस्व असुली भन्दा सरकारको चालू खर्च १७ अर्ब रुपैयाँ बढी पुगेको छ । आगामी दिनमा पनि राजस्व आम्दानीले चालू खर्च समेत धान्न नसक्ने अवस्था आए सरकार गम्भीर रुपमा वित्तीय समस्यामा फस्नेछ ।
सरकारी आयव्ययको हिसाब राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रकको कार्यालयका अनुसार कात्तिक १७ सम्म सरकारले वैदेशिक अनुदानसहित दुई खर्ब ५४ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ ।
यहि अवधिमा खर्च भने ३ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । अहिलेसम्म सरकारलाई आफ्नो सम्पूर्ण खर्च चलाउन ५५ अर्ब रुपैयाँ ऋण खोजेर जोहो गर्नुपरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ