सूचनाको शक्ति - The Power Of Information

        

म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

 फुल्हमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा फुल्हमलाई २–१ ले हराएर सिटी शिर्ष स्थानमा उक्लिएको हो ।

सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जुलियन अल्भारेज र अर्लिङ ब्रट हालाण्डले गोल गरे । फुल्हमका आन्द्रिएस परेराले गोल गरे ।

खेलको १७ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा परेराले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

सिटीका डिफेन्डर जोआ कान्सेलोले २६ औं मिनेटमा रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै १३ खेलबाट ३२ अंक जोडेको सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । १२ खेलबाट ३१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा झरेको छ ।

आर्सनलले आज आइतबार राति चेल्सीसँग खेल्नेछ । २१ अंक मात्रै जोडेको चेल्सी प्रिमियर लिगको सातौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतवार ०७:५६