श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलंकाको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।
तथ्यांकअनुसार अक्टोबरमा श्रीलंकाले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ । केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलंकाको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ ।
यो सेप्टेम्बरको तुलनामा केही कम हो । गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका भित्रिएको पर्यटन प्राधिकरणको तथ्यांकले देखाएको छ ।
कोभिड–१९ को महामारी र राजनीतिक संकटसँगै श्रीलंकामा आएको आर्थिक संकटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत वर्ष भएको जनआन्दोलनको कारण तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजीनामा दिनुपरेको थियो ।
सत्यपाटी संवाददाता । कोलम्बो