सूचनाको शक्ति - The Power Of Information

        

डडेल्धुरामा आरजुले भनिन्, ‘हेलिकोप्टरमा चढेर आउन सक्नेलाई छान्नुस्’

नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले हेलिकोप्टरमा चढेर आउन सक्ने क्षमता भएकालाई भोट दिन आग्रह गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगै चुनावी सभामा सहभागी हुन गृह जिल्ल्ला डडेल्धुरा पुगेकी उनले यस्तो बताएकी हुन् ।

शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन् । उनले पतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नाम नलिइ हेलिकोप्टर चढ्न सक्नेलाई भोट दिन भनेका हुन् ।

देउवा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर चढेर चुनावी अभियानका लागि गृहजिल्ला पुगेका छन् । ‘यो गाउँठाउँ बनाउने, यो व्यवस्थालाई अगाडि लैजाने, संविधानको रक्षा गर्ने, देशमा शान्ति र समृद्धि हुने,’ उनले भोट माग्दै भनिन्, ‘जसरी आज हामी हेलिकोप्टरमा आयौँ । आजभन्दा १०–१५ वर्षअघि यहाँ हेलिकोप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छे छान्नुस् । कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवालाई जिताउनुस् ।’

आरजुले यसअघि पनि पटक पटक विवादित अभिव्यक्ति दिने गरेकी छन् । गत वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचका क्रममा डडेल्धुरामा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा सरकारको बजेट नै नपठाउने बताएकी थिइन् । यस्तै धनगढी उपमहानगरपालिकामा महिलाहरुलाई सम्बोधनका क्रममा उनले वैदेशिक रोजगारीका लागि सित्तैमा मलेसिया पठाउने प्रलोभन दिएर अर्को विवादमा परेकी थिइन् ।

यस्तै हालै मात्र प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ताका क्रममा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारको ढोका सजिलै खुल्ने बताएकी थिइन् । डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्नेबित्तिकै बालुवाटारको ढोका खुल्ने भनेपछि उनी हाँसीमजाकको पात्र भएकी थिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १७:३३