सूचनाको शक्ति - The Power Of Information

        

घरका छतभरि राताम्य खुर्सानी

त्रिपुुरासुन्दरी नगरपालिका–४ रङ्ग डोल्पाकी रमिता कुलालको घरको छत राताम्य भएको छ । माटो र ढुङ्गाको मिश्रणबाट निर्माण गरिएको घरको छानामा सुकाइएको स्थानीय जातको खुर्सानीले रङ्ग गाउँका छाना राताम्य देखिएको हो ।

कुलालका अनुसार १८ क्विन्टल खुर्सानी बारीमा उत्पादन भएको छ । कुलालले भनिन्, ‘हाम्रो यहाँको खुर्सानी रुकुम पश्चिम, जाजरकोट र डोल्पा जिल्लाभरिलाई पुग्छ । भोटाने खुर्सानी (मच्य) भनेर चिनिने हामीले उत्पादन गरेको यो खुर्सानी धेरै बिक्री हुँने गर्दछ ।’

कुलाल जस्तै सरस्वती बुढाको घरमा यस बर्ष १२ क्वीन्टल खुर्सानी उत्पादन भएको छ । अहिले उत्पादिन खुर्सानी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ । वैशाखमा लगाएको खुर्सानी असोज, कात्तिक महिनामा टिपेर सुकाउने काम चलिरहेको बुढाले बताइन् ।

अग्लो डाडामा रहेको रङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ । अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएका यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको बुढाले जानकारी दिइन् ।

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रङ्ग गाउँ खुर्सानीको रातो रङ्गले हिउँदयामको कात्तिक र मङ्सिर महिनाभरि छत राता हुने गर्दछन् ।

आधुनिक प्राविधिकभन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरुले त्यही अनुसार खुर्सानी खेतीतर्फ लागेको स्थानीय कालीबहादुर बुढाले बताए । यहाँ २१४ घरधुरी रहेका छन् ।

तत्कालीन सुँ गाविसको वडा नं ७, ८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ४ बनेको छ । पूर्ववडा सदस्य हरिवान बुढाका अनुसार वडाभरि खुर्सानी राम्रो उत्पादन हुने गर्दछ ।

सानो रबरको एक जग खुर्सानी बिक्री गर्दा रु ७० पर्ने गर्दछ । एक क्विन्टल बिक्री गर्दा रु सात हजार २०० पर्ने गरेको बुढाले बताए । खुर्सानी बिक्री बाट स्थानीयले झण्डै रु दुई लाखजति आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

गाउँबाट ढुवानीका साधनबाट त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गर्ने गरिएको छ । सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेजति खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको स्थानीयवासी बताउँछन् ।

नगरपालिका र अन्य निकायले व्यावसायिकरुपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने स्थानीय भावना बुढाले बताइन् । रङ्ग गाउँ खुर्सानी मात्र होइन, स्याउको पनि स्थापित मानिन्छ ।

मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित हुँदै आएको छ । त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै कार्यक्रम नभएको कृषि शाखाका जगतबहादुर रोकायले बताए । स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उनले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १४:१९