सूचनाको शक्ति - The Power Of Information

        

स्वतन्त्र भारतका पहिलो मतदाता श्यामशरणको मृत्यु

स्वतन्त्र भारतका पहिलो मतदाता श्यामशरण नेगीको आज बिहान निधन भएको छ । हिमाञ्चल प्रदेशको किन्नौरमा बस्ने नेगी १०५ वर्षका थिए ।

उनको मृत्युमा शोक व्यक्त गर्दै हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले ट्वीट गर्दै भनेका छन्, ‘स्वतन्त्र भारतका प्रथम मतदाता र किन्नौरका थिए, श्यामशरण नेगीजीको निधनको खबर सुनेर दुःखी छु । आफ्नो कर्तव्य निर्वाह गर्दै उनले नोभेम्बर २ मा ३४ औँ पटक हुने विधानसभा चुनावमा हुलाकबाट भोट हालेका थिए ।’

स्वतन्त्र भारतको पहिलो मतदाताको रूपमा परिचित नेगीलाई भारतीय लोकतन्त्रको जीवित किंवदन्ती पनि भनिन्छ । स्वतन्त्र भारतको पहिलो चुनावमा किन्नौरबाट उनले २५ अक्टोबर १९५१ मा मतदान गरेका थिए ।

बीबीसीसँगको कुराकानीमा उनले एकपटक भनेका थिए, ‘अक्टोबर १९५१ मा मैले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको थिएँ, त्यसपछि मैले एउटा पनि चुनाव गुमाइनँ । मलाई मेरो भोटको महत्व थाहा छ । अहिले मेरो शरीरले पनि साथ दिएको छैन, तर आत्मबलले भोट हाल्न लागेको छु ।’ पेसाले शिक्षक श्यामशरण नेगीको जन्म सन् १९१७ जुलाई १ मा भएको थियो ।

स्रोत : बीबीसी
प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १४:०९