सूचनाको शक्ति - The Power Of Information

        

डडेलधुरामा एमालेको ‘देउवा हराऔँ’ अभियान

डडेलधुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन एमाले अगाडि सरेको छ । देउवालाई हराउनका लागि एमालेले कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ एमाले डडेल्धुरा जिल्ला कमिटीका पदाधिकारीलाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ कांग्रेस बिपीका मल्ललाई समर्थन गर्न निर्देशन दिएका हुन् ।

यसअघि एमालेले मल्ललाई सर्मथन गर्ने बताएपनि मल्लले प्रदेशसभा (२)मा स्वतन्त्र उम्मेदवार डा.तारा जोशीलाई समर्थन गर्ने निर्णय गरेपछि एमालेले मल्लसँगको तालमेल भंग भएको थियो ।

तर, अध्यक्ष ओलीले मल्ललाई नै सहयोग गर्न निर्देशन दिएपछि अब मल्ललाई नै समर्थन गर्ने निर्णय भएको एक एमाले जिल्ला नेताले बताए । उनका अनुसार प्रदेशसभातर्फ भने एमालेको दुवै उम्मेदवार कायम रहनेछ ।

अध्यक्ष ओलीले प्रतिनिधिसभातर्फ देउवालाई हराउन मल्ललाई सहयोग गर्न र प्रदेशसभातर्फका एमालेका दुवै उम्मेदवारलाई विजयी गराउन तीव्र रुपमा लाग्न निर्देशन दिएका छन् ।

शुक्रबार महेन्द्रनगरको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले डडेलधुरामा मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । उनले एमालेको प्रतिबद्धता कायम रहेको भन्दै दायाँवायाँ गर्ने अरूलाई अधिकार नभएको बताउँदै मल्ललाई समर्थन गर्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

केन्द्रको निर्देशनअनुसार प्रतिनिधिसभातर्फ देउवालाई जिताउने अभियानमा लाग्ने एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउदले बताएका छन् । उनले अब एमालेको समर्थन मल्ललाई नै भएको बताउँदै भने, ‘हामी देउवालाई हराउने र मल्ललाई जिताउने गरि चुनावी अभियानमा लाग्ने छौँ ।’

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १३:५९