सूचनाको शक्ति - The Power Of Information

        

एकै स्थानमा दुई वटा झोलुङ्गे पुल

कतिपय स्थानमा आवश्यक भएको स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसकेको समयमा कतै भने पुलमाथि पुल निर्माण भएका छन् ।

खार्पुनाथ गाउँपालिका–४ र ५ को सिमाना खार्पुको नल्न स्थित कर्णाली नदीमा एकै ठाउँमा दुई वटा पुल निर्माण गरिएको हो । पैदल यात्रु बीरबहादुुर रावलले खार्पुको नल्नमा पुल सञ्चालनमै भए पनि थप झोलुङ्गे पुल निर्माण गरिएको बताए ।

उनले एउटै स्थानमा दुई वटा पुल निर्माण भएकोले दोहोरो खर्च भएको बताए । कतिपय आवश्यकता रहेका स्थानमा स्थानीयको माग भए पनि यस्ता पुल निर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।

पुल निर्माण गर्ने निकाय सङ्घीय सरकार आवश्यकभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको हो । दुवै पुल सञ्चालनमा आएको देख्दा पैदल यात्रुसमेत आश्चर्यमा पर्ने गरेको बताउँदै अर्का पैदल यात्रु प्रेम रावलले विकासमा दोहोरिएको बताए ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले हालको जीर्ण पुल २०६४ सालपछि निर्माण भएको भए पनि कर्णाली कोरिडोरमा खार्पु खण्डको सडक निर्माणका क्रममा माथिबाट खसेका ढुङ्गाले क्षति पुर्याएपछि नयाँ पुल निर्माण भएको बताए ।

उक्त स्थानमा भएको झोलुङ्गे पुल माओवादी जनयुद्धमा काटिएको थियो । त्यसपछि २०६४ सालमा नयाँ पुल बनेको थियो । कार्यक्रमले भने स्थानीयको माग अनुसार नै नयाँ पुल अघिल्लो आर्थिक वर्षमा निर्माण भएको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १५:२९